इजरायल-हिजबुल्लाह युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर कामदार लैजाने

इजरायल-हिजबुल्लाह युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर कामदार लैजाने

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्। 

आज मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, केयरगिभरका रुपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिए।

राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरूलाई क्रमशः लैजाने जानकारी गराइन्। उनले नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजान सकिने बताइन्। 

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए।

यसअघि लेबनानस्थित हिजबुल्लाह समूहसँग युद्ध विराम भएको छ। अमेरिकाको मध्यस्थतामा इजरायल र हिजबुल्लाह समूहबीच युद्धविराम भएपछि १३ महिनादेखि जारी युद्ध स्थगित भएको छ।

युद्ध रोकिएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने जनाएको छ। 

कामदारको श्रोत मुलुकको रूपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने, कृषि, निर्माण लगायतका अन्य क्षेत्रमा समेत नेपाली कामदारहरू पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हक अधिकार संरक्षण र सुरक्षा लगायतका विषयमा दुवै देशहरूबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको थियो।

मंसिर १२, २०८१ बुधबार १९:३०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।