पूर्वमन्त्रीलाई उन्मुक्ति दिएपछि माओवादीको प्रश्न 'जसको निर्देशनमा मानिस जापान लगियो उसैलाई उन्मुक्ति दिने?'

पूर्वमन्त्रीलाई उन्मुक्ति दिएपछि माओवादीको प्रश्न 'जसको निर्देशनमा मानिस जापान लगियो उसैलाई उन्मुक्ति दिने?'

काठमाडौं : माओवादी केन्द्रले कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई सरकारले उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिने काम भएको गरेको बताए।

‘अहिले पूर्वमन्त्रीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरेकोमा हाम्रो पार्टीको आपत्ति छ,’ सापकोटाले भने, ‘जसको निर्देशनमा मानिस जापान लैजाने काम भयो उसैलाई उन्मुक्ति दिने, उनलाई छुटाएर मुद्दा दर्ता गरिएको छ।’

उनले वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको  बताए। 

पैसा बुझाएर जापान हिँडेका तीन जनासँग अधिकारीले रकम नलिएको, काठमाडौँमा भेट गरेर सँगै नगएको, अवैध रुपमा जापान लगेकोबारे प्रहरी अधिकारीहरूलाई जानकारी दिएको, परिचय पत्र बनाउन संलग्न नदेखिएको र उनको हस्ताक्षर किर्ते देखिएको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो। 

तर, अवैध रूपमा जान राजी भएका तीन जनासहित ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले भ्रष्टाचारी र माफियाको संरक्षण गर्दै आएको आरोप लगाउँदै प्रवक्ता सापकोटाले स्थानीय तह उपनिर्वाचनपछि सरकारविरूद्ध कडा ढंगले प्रस्तुत हुने बताए। 

मंसिर १२, २०८१ बुधबार १९:१५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।