म महिला सभामुख भएर पनि हरेक दलका नेताहरूलाई भेट्न घर-घरमा पुग्थें : ओनसरी घर्ती
काठमाडौं : नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले राजनीतिक क्षेत्रमा महिलाहरूलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन्।
‘महिला हिंसा विरुद्ध म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानसिक हिंसा भएपनि महिलाहरूले निरन्तर लडाँई गरेर हार मान्न नहुने बताइन्।
उनले भनिन्, ‘स्थानीय तहमा ४० प्रतिशत महिलाहरूको उपस्थिति छ भनेर हरेक पुरुष साथीले भाषण गर्नुहुन्छ, राजनीतिमा महिलाहरूलाई शारीरिक भन्दा पनि मानसिक हिंसा धेरै हुन्छ। त्यो मानसिक हिंसा हुँदाखेरी हामीले हार खानु हुन्। हामीले निरन्तर लडाइँ गर्नुपर्छ। सबैभन्दा मुख्य कुरा राजनीति हो। सबै कुराको कमान्ड राजनीतिले गर्छ।’
महिलाहरू कुनै क्षेत्रमा पनि कमजोर नभएको भन्दै उनले महिलाहरू समाजको नियममै बसेर हरेक कामहरू दृढतापूर्वक गर्न सक्ने बताइन्।
उनले भनिन्, ‘म जुन समय महिला सभापति भएँ, त्योबेला उमेरको हिसाबले सबैभन्दा सानो थिएँ। मन्त्री, सांसद सबैले मलाई छोरी भन्नु हुन्थ्यो। म महिला सभामुख भएर पनि हरेक दलका नेताहरूलाई भेट्न घर-घरमा पुग्थें। अहिलेका सभामुख कोही घर घरमा पुगेको सुन्नु भएको छ?’
उनले राजनीतिक दलहरुलाई एक बनाउनको लागि आफूले हरेक प्रयासहरू गरेको बताइन्।
मंसिर १२, २०८१ बुधबार १७:२२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।