एमालेको जागरण सभामा दरबारमार्गबाट ‘८८४८ ब्रान्डका रक्सीका बोतल र चुरोटसहित दुई ट्रक फोहर संकलन’
काठमाडौं : काठमाडौं वेस्ट मेनेजमेन्टले गएको शुक्रबार सत्तारुढ दल एमालेले काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्नेक्रममा पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहर संकलन गरेको बताएको छ।
महानगरले एमालेको जागरण सभामा भएको फोहोर संकलनको अवस्थाबारे दरबारमार्ग क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको उक्त कम्पनीलाई फोहोर संकलन गरिएको विवरणबारे सोधेको थियो। जबाफमा जागरण सभाको भोलिपल्ट आफूहरूले फोहोर संकलन गरेको कम्पनीले जनाएको छ।
त्यसअघि, एमालेले जागरणसभापछि आफ्ना स्वयंसेवकले दरबारमार्गमा भएको फोहर संकलन गरेको दाबी गरेको थियो। तर, वेस्ट मेनेजमेन्टले त्यसको खण्डन गर्दै फोहोर व्यवस्थापन आफूले गरेको भनेको छ।
मेनेजमेन्टले बुधबार महानगरलाई जवाफी पत्र पठाएको महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले बताइन्। मंसिर ८ मा दरबारमार्ग क्षेत्रमा फोहरमैला व्यवस्थापनका लागि सधैझैँ बिहान ४ बजेदेखि सफाइकर्मी परिचालन गरिएको पत्रमा उल्लेख छ।
पत्रमा सार्वजनिक संवेदनशीलता भएका स्थानहरूबाट कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको सालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको उल्लेख छ।
‘सार्वजनिक संवेदनशीलता भएका स्थानहरूमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको सालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको जानकारी गराउन चाहन्छौं,’ पत्रमा भनिएको छ।
दरबारमार्ग क्षेत्रबाट ६.७५ टन क्षमताका दुई ट्रक फोहोर संकलन गरी बञ्चरे ल्यान्डफिल साइटमा ढुवानी गरिएको कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक मित्र घिमिरेले बताएका छन्। फोहोर संकलन कार्य गोल्डेन टिभी, दरबारमार्ग ट्राफिक प्रहरी तथा काठमाडौं महानगर प्रहरीको निगरानीमा सम्पन्न गरिएको बताइएको छ।
तर, एमालेले भने जागरण सभा गर्दा जथाभाबी फोहोर गरेर वातावरण प्रदूषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गरेको पत्र बुझ्न अस्वीकार गरिरहेको छ। महानगरका कर्मचारीले एमाले केन्द्रीय कार्यालयमा गएर पत्र बुझाउन खोज्दा केन्द्रीय कार्यालयले आफूहरू कार्यक्रमको आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गर्यो।
त्यसपछि महानगरले जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ। अझैपनि एमालेले महानगरको जरिवाना तिर्ने छाटकाट देखाएको छैन। बरू महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव समेत रहेका सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले एमाले जरिवाना तिर्न तयार नभएको र महानगर प्रमुख बालेन शाह एमालेविरुद्ध प्रयोग भएको दाबी गर्दै आएका छन्।
मंसिर १२, २०८१ बुधबार १६:४१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।