भीमसेन थापा गाउँपालिकाले दलित र गैरदलितबीच विवाह गर्ने १९ जोडीलाई सम्मान गर्यो
काठमाडौं : गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तर्जातीय विवाह गर्ने १९ जोडीलाई सम्मान गरेको छ। जातीय छुवाछुत र भेदभावको पूर्णरूपमा अन्त्य गदै अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए।
'कानूनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैरदलितबीच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्', उनले भने, 'यसलाई अन्त्य गर्दै अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलितबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो।'
पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको छ।
'अन्तर्जातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देश्य हो। यसबाट अन्तर्जातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौं, उनले भने।
दलित र गैरदलितबीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सीपमूलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए।
'दीर्घकालिन रूपमा उहाँहरूले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ। यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ, उनले भने।
मंसिर १२, २०८१ बुधबार १५:४०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।