पलायन भएका तीन हिट नायिकाको ‘लोभलाग्दो’ कमब्याक
काठमाडौं : अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन्। कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे।
चलचित्रको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराएपनि चलचित्रमा पुनरागमन गर्न सफल भए।
एक दशकअगाडि ‘वरदान’ चलचित्रमा देखिएकी अभिनेत्री रेजिना उप्रेतीले गत साउनमा प्रदर्शन भएको ‘मोदीबेनी’ चलचित्रमा अभिनय गरिन्।
दुई कार्यकाल कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रही काम गरेकी उनले यस बीचमा केही म्युजिक भिडिओ, विज्ञापन तथा लघु फिल्ममा अभिनय गरिरहेकी थिइन्।
विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढेपछि उनी चलचित्रबाट टाढा थिइन्। उनको आगमनसँगै सुरू भएको पुराना अभिनेत्रीहरूको चलचित्रमा पुनरागमनले निरन्तरता पाइरहेको छ।
गत कात्तिक ३० देखि प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री विपना थापा ठूलो पर्दामा फर्किइन्। ‘हस्व दीर्घ’मा अभिनेता हरिहर अधिकारीकी आमाको भूमिकामा देखिएकी उनले त्यसलाई न्याय गरेकी छन्।
२०५१ सालको फिल्म ‘अपहरण’बाट अभिनय करिअर थालेकी विपनाको पछिल्लो रिलिज भएको फिल्म ‘संघर्ष जिन्दगीको’हो, जुन वि.सं. २०६७ सालमा रिलिज भएको थियो।
झण्डै ७० फिल्ममा अभिनय गरिसकेकी विपना १७ वर्षअघि भारतीय नागरिकसँग विवाह गरेपछि उतै बसिन्। नेपालमा हुने अवार्ड तथा विभिन्न कार्यक्रमहरूमा बेला-बेला आइरहन्थिन् उनी। यस पटक भने उनी फिल्म खेल्नका लागि नै नेपाल आएकी हुन्।
उनले केही समय अगाडिको योजना भएपनि अवस्था अनुकूल भएपछि चलचित्रमा काम गर्ने हौसला प्राप्त भएको बताइन्।
'पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ। अहिले काममा फर्किएकी छु। यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरें। छायाङ्कन अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ, विपनाले भनिन्, 'कुनै समय हामी अभिनेत्रीको भूमिकामा देखिएका थियौं, अहिले सहायक भूमिकामा देखिने गरेका छौं। पात्र जस्तो भए पनि त्यसको प्रभाव समग्र कथामा देखिनुपर्छ।'
विपनाले अब अभिनयलाई निरन्तरता दिने सोचअनुसार काम गरिरहेको सुनाइन्।
गत मङ्सिर ७ देखि प्रदर्शनमा रहेको चलचित्र ‘तेल भिसा’ मार्फत अभिनयमा पुनरागमन गरेकी अभिनेत्री पूजा चन्दले राम्रो चर्चा बटुलिरहेकी छन्। अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकालाई उनले न्याय गरेको प्रतिक्रिया दर्शक र चलचित्रकर्मीले दिएका छन्।
सन् १९९२ को फिल्म ‘भूल’बाट अभिनयमा डेब्यु गरेकी पूजा चन्दलाई सफलता हात परेको थियो। पहिलो फिल्मबाट नै दर्शकमाझ चर्चामा आएकी उनी सन् २००४ मा फिल्म ‘मनको टुक्रा’ रिलिज भएपछि अमेरिका पलायन भएकी थिइन्।
अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी पूजा चन्द यतिबेला फेरि नेपाली फिल्ममा फर्किएकी छन्। ‘तेल भिसा’मा उनको अभिनयले दर्शकलाई बेला-बेला भावुक पनि बनाउँछ। यही फिल्मको सकारात्मक प्रतिक्रियापछि उनी पनि फेरि चलचित्रमा फर्किने सम्भावना रहेको बताइन्छ।
पूजाले अमेरिकामा नै निर्माण भइरहेको अर्को फिल्म ‘भुठान’मा पनि काम गरिरहेकी छन्।
‘तेल भिसा’मार्फत अर्की अभिनेत्री ऋचा घिमिरे पनि अभिनयसँगै निर्माणमा फर्किएकी छन्। वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मकी प्रस्तुतकर्तासमेत हुन् ऋचा।
ऋचाले १० वर्षपछि नेपाली फिल्ममा काम गर्दा एकदमै ऊर्जा महसुस भएको अनुभवबारे भनिन्, 'सिनेमा नखेल्दा वा नबनाउँदा अक्सिजनको कमी हुने वा बाँच्नका लागि दिन कम हुने त होइन। तर, आफूलाई मन परेको काम गर्दा एकदमै ऊर्जा आउने रहेछ।'
पछिल्लो समय अमेरिकामा बस्दै आएकी उनले अब भने नेपाली फिल्ममै काम गर्ने सुनाइन्।
'विविध कारण चलचित्रकर्मकै कारण विदेश गइयो। त्यहाँको जीवनशैली र रहनसहनले गर्दा फर्किन समय लागेको हो। तर, फेरि फिल्म कर्ममै फर्किएकी छु। यसलाई अब निरन्तरता दिनेछु, ऋचाले भनिन्।
२ दर्जन चलचित्र र थुप्रै टेलिचलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री ऋचाका छोडि गए पाप लाग्ला, गिरफ्तार, फर्ज, फैसला लगायत थुप्रै चलचित्र हिट लिस्टमा पर्छन्।
ऋचासँगै अभिनेत्री अरुणिमा लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा कमब्याक गर्दै छिन्। ५० बढी फिल्ममा अभिनय गरिसकेकी अरुणिमा अहिले अमेरिकामा बस्दै आएकी छन्।
फिल्मले बक्स अफिसमा जस्तोसुकै कमाइ गरेपनि यी अभिनेत्रीको कामले भने अवश्य दर्शकलाई हृदयस्पर्श गर्ने पक्का छ। कुनै बेलाका हिट अभिनेत्री पुनरागमन पछिल्लो पुस्ताका दर्शकसँग जोडिने अवसर पनि हो।
उनीहरूले पनि यसलाई पछिल्लो पुस्ताका दर्शकमाझ जोडिने अवसरको रूपमा लिएका बताउँदै आएका छन् भने उनीहरूको कमब्याकलाई धेरै चलचित्रकर्मीले सम्भावना फर्किएको भन्दै लोभलाग्दो कमब्याक भनेका छन्।
मंसिर १२, २०८१ बुधबार १५:२७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।