आईपीएलमा २७ करोडमा बिकेका पन्तले पूरै रकम नपाउने, कर काटिँदा कति पर्छ हातमा?

आईपीएलमा २७ करोडमा बिकेका पन्तले पूरै रकम नपाउने, कर काटिँदा कति पर्छ हातमा?

एजेन्सी : साउदी अरेबियाको जेद्दामा भएको २ दिने आईपीएल मेगा अक्सनमा १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरे। अक्सनमा १८२ खेलाडी बिके, जसमध्ये ६२ विदेशी थिए।

अक्सनमा ऋषभ पन्त इतिहासकै सबैभन्दा बढी मूल्य २७ करोड भारुमा लखनऊ सुपर जाइन्ट्समा बिक्री भए। खेलाडीहरूको महंगो मूल्यमा बिक्री भए पनि उनीहरूले तोकिएको पूरै रकम भने पाउँदैनन्।

आईपीएलमा अक्सनमा बिक्री भएका खेलाडीहरूले लिलामी रकमको तुलनामा कति पैसा पाउनेछन् भनेर जानकारी दिन गइरहेका छौँ।

खेलाडीको लिलामी भएको रकममा टीडीएस कटौती हुने गर्छ। भारत सरकारले भारतीय खेलाडीहरूलाई १० प्रतिशत र विदेशी खेलाडीहरूको हकमा २० प्रतिशत कर लगाएको छ।

यो कर आईपीएल फ्रेन्चाइजीले खेलाडीलाई भुक्तानी गर्नुअघि स्रोतमा कर कटौती (टीडीएस)को रूपमा काटिन्छ।

उदाहरणका लागि, यदि कुनै भारतीय खेलाडी १० करोड रुपैयाँमा बिकेको अवस्थामा फ्रेन्चाइजले खेलाडीलाई भुक्तान गर्नुअघि करको रूपमा १ करोड रुपैयाँ कटौती गर्नेछ।

विदेशी खेलाडी दश करोड रुपैयाँमा बिकेको अवस्थामा फ्रेन्चाइजले दुई करोड रुपैयाँ कर काटेर मात्र आठ करोड रुपैयाँ दिने गर्छ। कटौती गरिएको टीडीएस रकम खेलाडीहरूको तर्फबाट भारत सरकारको खातामा जम्मा गरिन्छ।

२०२५ मा हुने आईपीएलको लिलामीबाट ८९.४९ करोड रुपैयाँ सरकारी कोषमा जानेछ। आईपीएल टोली मालिकहरूबाट कटौती गरिएको टीडीएस खेलाडीहरूको तर्फबाट भारत सरकारमा जम्मा गरिन्छ।

यस लिलामीमा १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन्। जसमा भारतीय खेलाडीमा ३८३.४० करोड र विदेशी खेलाडीमा २५५.७५ करोड रुपैयाँ खर्च भएको छ।

१० प्रतिशत टीडीएस अनुसार भारतीय खेलाडीको कुल टीडीएस ३८.३४ करोड रुपैयाँ आउँछ। जहाँ विदेशी खेलाडीको २० प्रतिशत टीडीएस अनुसार ५१.१५ करोड रुपैयाँ हुन्छ।

कसरी तिरिन्छ आयकर?
आईपीएलबाट भारतीय खेलाडीहरूले प्राप्त गरेको पैसा उनीहरूको कुल आम्दानीमा जोडिन्छ। भारतीय खेलाडीहरूले टीडीएस काटेर आईपीएल टोलीबाट प्राप्त गर्ने पैसा आयकर ऐन, १९६१ अन्तर्गत कर योग्य रकममा पर्छ।

यो रकमलाई खेलाडीले अन्य स्रोतबाट आर्जन गरेको आयको रूपमा लिइन्छ र कुल आम्दानीमा जोडिन्छ। सोही अनुसार आयकर रिटर्न फाइल गर्दा तोकिएको स्ल्याब अनुसार कर लगाइन्छ। यद्यपि शुरूमै कटौती गरिएको टीडीएसको रकम भने यसमा समायोजन गरिनेछ।

त्यसैगरी विदेशी खेलाडीले पाउने पैसामा कर लगाउने विभिन्न नियम छन्। एक आर्थिक वर्षमा १८२ दिनभन्दा बढी भारतमा बस्ने विदेशी खेलाडीहरू भारतीय आयकर कानून अन्तर्गत पर्छन्। उनीहरूले आईपीएल टोलीहरूबाट प्राप्त गरेको रकम कुल आयमा थपिन्छ र कर स्ल्याब अनुसार कर लगाइन्छ।

तर, एक आर्थिक वर्षमा १८२ दिन भन्दा बढी भारतमा नबस्ने विदेशी खेलाडीहरूको हकमा भने उनीहरूको सम्पूर्ण आम्दानीमा कर लाग्दैन। त्यसैले उनीहरूले टीडीएस रकम मात्र तिरे पुग्छ।

भारतको नयाँ ट्याक्स रिजिमको स्ल्याब अनुसार तीन लाख रुपैयाँसम्म आयकर तिर्नुपर्दैन। तीन देखि सात लाख रुपैयाँ कमाउनेले पाँच प्रतिशत, सातदेखि १० लाख रुपैयाँसम्म १० प्रतिशत, १० देखि १२ लाख रुपैयाँसम्म १५ प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ।

यसका अलावा १२ देखि १५ लाख रुपैयाँ कमाउनेले २० प्रतिशत र १५ लाखभन्दा बढी कमाउनेले ३० प्रतिशत आयकर तिर्नुपर्ने भारतीय व्यवस्था छ।

मंसिर १२, २०८१ बुधबार १४:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।