भारतमा कांग्रेसले अडानीको ठगी मुद्दामा बहस गर्न माग गरेपछि दुवै सदन स्थगित
एजेन्सी : हिउँदे अधिवेशनको दोस्रो दिन पनि भारतको संसदमा हंगामा भएपछि लोकसभा र राज्यसभा दिनभरका लागि स्थगित गरिएको छ।
बुधबार कांग्रेसले दुवै सदनमा अडानीको मुद्दामा बहसको प्रस्ताव राखेको थियो। अडानीमाथि अमेरिकामा ठगीको गम्भीर आरोप लागेको छ। यसबारे सरकारले बहस गर्नुपर्ने कांग्रेसको भनाइ छ।
संसदबाहिर विपक्षी दलका नेता राहुल गान्धीले पत्रकारसँग भने, ‘एकतिर सानातिना आरोपमा सयौंलाई गिरफ्तार गरिँदैछ, अर्कोतिर अर्बौं ठगीका आरोपी अडानीलाई सरकार बचाउने काम गरिरहेको छ।’
गत हप्ता मात्रै अडानीमाथि आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो।
यसपछि कांग्रेसले गौतम अडानीलाई पक्राउ गर्न माग गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीसँगको घनिष्ठ सम्बन्धका कारण पनि उनी पक्राउ नपरेको विपक्षीको आरोप छ।
मंसिर १२, २०८१ बुधबार १३:३९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।