‘पूर्णबहादुरको सारङ्गी’को कथा चोरीको आरोपमा उजुरी, क्षतिपूर्तिको माग

‘पूर्णबहादुरको सारङ्गी’को कथा चोरीको आरोपमा उजुरी, क्षतिपूर्तिको माग

काठमाडौं : गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता तथा निर्देशकविरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ।

‘लाज’ फिल्मका लेखक अजित लामिछानेले मंसिर ५ गते नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन्। आफ्नो फिल्म ‘लाज’को कथासार र केही प्लट तोडमोड गरेर निर्देशक सरोज पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’मा राखेको उजुरीमा उल्लेख छ।

एक साताअघि लेखक लामिछानेले आफूले दुई वर्षअघि सरोज पौडेललाई आफ्नो फिल्मको कथा सुनाएको दाबी गरेका थिए। तर यसलाई निर्माण पक्ष र निर्देशक पौडेलले नकार्दै आएका छन्।

फिल्मका निर्माता विनोद पौडेल र निर्देशक सरोज पौडेलले आफ्नो कुरालाई गम्भीर रुपमा नलिएपछि लेखक लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा क्षतिफूर्तिको माग सहित उजुरी हालेका हुन्।

‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ। उक्त फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सका प्रबन्ध निर्देशक रामबाबु गुरुङलाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको र दुई चरण फिल्म निर्माण सम्बन्धमा छलफल गरिएको हो’, लामिछानेको उजुरीमा भनिएको छ।

लेखक लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी गरेको र सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको समेत माग गरिएको छ।

लेखक लामिछानेले उकेरासँगको कुराकानीमा आफूले निर्देशक सरोज पौडेल र रामबाबु गुरुङलाई कथा सुनाएको बताए। कथा अलिक भास्ट भएको हुनाले केही मिलाउने कुरामा आफू लेखनमा लागेको उनले बताए।

‘मैले सरोज पौडेल र रामबाबु गुरुङसँग भेटभाट गरेको हो। मैले रामबाबु गुरुङलाई मेल पनि गरेको छु,’ उनले भने, ‘यसमा लगानीका हिसावले बरु म पनि बस्छु भनेको थिए। उहाँहरूले कथा अलिक भास्ट भयो। यसलाई मिलाउनुपर्छ भनेकोले म मिलाउनतर्फ लागे। कथा सुनाएको छैन भन्नु हुन्छ भने त्यो उहाँहरूले जान्नु हुन्छ।’

यसअघि फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ माथि ‘सङ्ग्रामपुर’ उपन्यासका लेखक डा. शिव शंकर बस्यालले आफ्नो उपन्यासको नौ वटा प्लट जस्ताको त्यस्तै सारिएको दाबी गरेका थिए। उनले फेसबुकमा उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार नै प्रस्तुत गर्दै आफ्नो उपन्यासबाट फिल्ममा कथा चोरिएको दाबी गरेका थिए।

यता फिल्मका कथा तथा निर्देशक सरोज पौडेलले आफुले कसैको उपन्यासबाट कथा नलिएको र कसैले पनि आफुलाई यो फिल्मको कथा नसुनाएको दाबी गर्दै आएका छन्। उनलाई यसबारेमा बुझ्नका लागि फोन गर्दा उनको फोन उठेन।

मंसिर १२, २०८१ बुधबार १३:१२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।