धितोपत्र बोर्डका नव-नियुक्त अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौं : धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
बुधबार खुमलटार स्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नव नियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतीहरुको थुप्रोको बीचमा ठूलो जिम्मेवारीकोसाथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्नेगरी काम गर्ने उद्देश्यकोसाथ आफू आएको पनि बताए।
उनले भने, ‘विशेष गरेर क्यापिटल मार्केटको दायरा नेपालमा बढाउँदै लैजानुपर्ने चुनौती मसामू छ। लगानीकर्ताको सुरक्षा पहिलो प्रथामिकताको कुरा हो। त्यसलाई मध्यनजर गर्दै काम गर्नुपर्छ।’
उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै भएको बताउँदै त्यसलाई आफूहरूले सदुपयोग गर्न नसकेको बताए।
उनले थपे, ‘क्यापिटल मार्केटलाई कसरी हामीले अधिकतम प्रयोग गर्न सक्छौ भनेर मध्यनजर गर्दै काम गर्ने उद्देश्यकोसाथ आएको छु।’
उनले हिजै मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका थिए।
मंसिर १२, २०८१ बुधबार १३:००:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।