एनपीएल टीम परिचय : ‘ब्याटर कि बलर छुट्याउनै नसकिने कौशल भएका’ कुशलको पोखरा
काठमाडौं : ‘पोखरा एभेन्जर्सका कुशल भुर्तेल ब्याटर हुन् कि बलर छुट्याउनै गाह्रो हुने उनको कौशल छ। विश्वले नै छुट्याउन सक्या छैन जस्तो लाग्छ मैले मात्र हैन। यसपटक ९९ मा आउट हुन नपरोस्। शतक हान्नु भन्ने मेरो शुभकामना छ।’
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको ‘नेपाल प्रिमियर लिग’को ट्रफी अनावरण कार्यक्रममा देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले मार्की खेलाडीहरूको प्रशंसा गर्ने क्रममा भुर्तेलबारे गरेको टिप्पणी हो यो।
त्यसपछि कार्यक्रमस्थलमा हाँसोको फोहरा छुट्यो। भुर्तेलबारे प्रधानमन्त्री ओलीको यो टिप्पणीमा प्रशंसा त थियो नै, केही व्यङ्ग्य पनि लुकेकै थियो। पछिल्ला खेलहरूको तथ्याङ्क केलाएर हेर्ने हो भने भुर्तेल राम्रो अवस्थामा छन् भन्ने आधार छैन। यद्यपि उनी ट्यालेन्ट भएका खेलाडी भने अवश्य हुन्।
मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीहरूबारे उकेराले नियमित रूपमा जानकारी गराइरहेको छ। आठ वटा टिमको परिचय दिने क्रममा हामीले यसअघि सातवटै टोली कर्णाली याक्स, विराटनगर किंग्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लाइन्स, जनकपुर बोल्ट्स र काठमाडाैं गुर्खाजबारे जानकारी दिइसकेका छौँ।
आज हामी एनपीएल इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री भएको र सबैभन्दा पुरानो टोली पोखरा एभेन्जर्सका बारेमा चर्चा गर्दैछौँ। एनपिएलमा सहभागी टिम मध्ये यो सबैभन्दा पुरानो टिम हो। यस अगाडि भएको नेपाल टी २० लिगमा समेत यो टिम सहभागी थियो। एनपिएलमा समेत सहभागी भएको नेपाल टी-ट्वान्टी प्रालिका अध्यक्ष सुवोध त्रिपाठीले पोखरा टीमलाई तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरे।
मार्की खेलाडीको रूपमा राष्ट्रिय क्रिकेट टीमका ब्याटरको रुपमा परिचय बनाए पनि अलराउन्डर बनिसकेका कुशल भुर्तेल पाएको टोलीले मुख्य प्रशिक्षकमा भारतका राजीव कुमारलाई नियुक्त गरेको छ।
राजीव कुमार विश्वकै सबैभन्दा महंगो क्रिकेट लिग इन्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली चेन्नई सुपर किंग्सका ब्याटिङ कोच समेत हुन्। त्यसबाहेक उनले भारतको घरेलु प्रतियोगिताहरूमा पनि कोचिङ गर्दै आएको अनुभव छ।
टोलीले रिजन प्रजुलाई सहायक प्रशिक्षकका रूपमा नियुक्त गर्यो। गण्डकी प्रदेशको मुख्य प्रशिक्षक रहेका उनी राष्ट्रिय महिला टोली र १९ वर्षका महिला टोलीको सहायक प्रशिक्षक भएर समेत काम गरिसकेका छन्।
त्यसका अलावा टोलीले मेन्टरको रूपमा दक्षिण अफ्रिकी चर्चित पूर्व खेलाडी एवं अलराउन्डर एवं इन्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली लखनउ सुपर जाइन्ट्सको फिल्डिङ कोचको रुपमा रहेका जोन्टी रोड्सलाई नियुक्त गरेको छ। रोड्स यसअघि पनि नेपाल आइसकेका छन्।
चर्चित मुख्य प्रशिक्षक र मेन्टर नियुक्त गरेको टोलीले अक्सनमार्फत स्पिनर सागर ढकाल १५ लाखमा समेट्यो। फास्ट बलर आकाश चन्दलाई ११ लाख ५० हजार रुपैयाँमा किनेको टोलीले किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलिप नाथलाई समान दश-दश लाख रुपैयाँमा टोलीमा अनुबन्ध गर्यो।
तीर्थराज दास र सुनम गौतमलाई समान पाँच-पाँच लाख रुपैयाँमा किनेको पोखराले दिनेश खरेल र अमृत गुरुङलाई दुई-दुई लाख रुपैयाँमा अनुबन्ध गरे।
विदेशी खेलाडीको रूपमा पोखराले अमेरिकाका ब्याटर आन्द्रियास गौस, नेदरल्यान्ड्सका अलराउन्डर बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिट्चली, वेस्ट इन्डिजका रेमोन रेफर र स्कटल्यान्डका माइकल लियस्कलाई अनुबन्ध गर्यो।
गण्डकी प्रदेशको नेपाल-चीन सिमास्थित लोमान्थाङमा एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरेको टोलीले जाेन्टी रोड्ससहितको टोलीलाई पोखरामा र्याली समेत गरेको थियो। नीलो रङको जर्सीमा हल्का पहेँलो रङमा माछापुच्छ्रे हिमाल र गिद्धको टाउको छ।
टोलीले पोखरामा गरेको ट्यालेन्ट हन्टमार्फत अलराउन्डर सुदीप अर्याललाई लोकल आइकनिक प्लेयरको रूपमा समावेश गरेको छ। त्यसबाहेक टोलीले अन्य चार जना सन्दीप खत्री, कृष्ण पौडेल, सन्दीप पराजुली र सोहेल कुँवरलाई गण्डकी हिरोजका रूपमा टोलीमा समेटेको छ।
पोखराले सार्वजनिक गरेको ‘जित हाम्रो निश्चित छ’ नामक एन्थेममा देवेन्द्र बब्लु र सौरभ शर्मा बस्यालको स्वर रहेको छ। देव व्रतको शब्द रहेको एन्थेममा गायक बस्यालकै संगीत छ।
अहिले काठमाडौंमा रहेको टोलीले केही समयअघि पोखरामै रहेर ट्रेनिङ गरेको थियो। ट्रेनिङमा मुख्य प्रशिक्षक राजीव कुमारले खेलाडीहरूको माइन्ड सेटमा काम गरिरहेका थिए।
सामाजिक सञ्जालमा पछ्याउनेहरूको कुरा गर्ने हो भने एभेन्जर्सको फेसबुकमा एक लाख सात हजार, एक्समा पाँच सय १८, इस्टाग्राममा १३ हजार दुई सय र टिकटकमा आठ हजार फलोअर्स छन्।
एनपीएलका लागि नेपाल क्रिकेट संघ(क्यान)ले सिद्धार्थ बैंकलाई मुख्य प्रायोजकको रूपमा अनुबन्ध गरिसकेको छ भने एनसेल यसको ‘पावर्ड बाइ’ साझेदारको रूपमा अगाडि आइसकेको छ। साथै यसको टिकेटिङ पार्टनरको रूपमा खल्तीसँग क्यानले सम्झौता गरेको छ। पहिलो खेलको टिकट समेत सबै बिक्री भइसकेका छन्।
प्रतियोगिताकै लागि भनेर त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नति गरिएको छ। यसको बाउन्ड्री बढाइएको छ भने दर्शकलाई जोन अनुसार बस्ने व्यवस्था मिलाएर अस्थायी रूपमा खानेपानी र शौचालयको व्यवस्था मिलाएको छ।
यसको अलावा क्यानले बढी मूल्य तिरेर राम्रैसँग खेल हेर्छु भन्ने दर्शकका लागि भीआईपी सिटको समेत व्यवस्था गरेको छ। जसका लागि त्रिवि क्रिकेट मैदानमा अस्थायी प्याराफिट बनाएर त्यहाँ कुर्सीहरू राखिएको छ।
प्रतियोगिताका सबै खेलहरू भारतीय चर्चित च्यानल स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुनेछ। नेपालमा भने युट्युबमार्फत खेललाई एक्सन स्पोर्ट्समा हेर्न सकिनेछ।
एनपीएल टिम परिचय:-
मंसिर १२, २०८१ बुधबार १२:५०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।