पाकिस्तानमा हिंस्रक प्रदर्शन हुँदा सात जनाको मृत्यु, इमरानले जेलबाटै भने- ‘अन्तिम बलसम्म लड्नू’ (तस्बिरहरू)
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइलाई लिएर आइतबारदेखि शुरू भएको विरोध प्रदर्शन हिंसात्मक बन्दा सात जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चार प्रदर्शनकारी र तीन प्रहरी रहेको त्यहाँको सरकारले जनाएको छ। मिडिया रिपोर्टका अनुसार इमरानका समर्थकहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलमाथि आक्रमण गरेका थिए।
आक्रमणमा तीन प्रहरीलाई कुल्चिएर मारिएको समाचारमा उल्लेख छ। हिंसामा हालसम्म एक सयभन्दा बढी प्रहरी घाइते भएका छन्। अधिकांशको अवस्था गम्भीर छ।
पाकिस्तानी समाचार संस्था ‘द डन’का अनुसार इमरान खानका सयौं समर्थक इस्लामाबादको डी चोकमा पुगेका थिए। उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
जवाफमा प्रदर्शनकारीले प्रहरी र सेनामाथि ढुंगा हानेका थिए। घण्टौको झडपपछि सेनाले प्रदर्शनकारीलाई डीचोक खाली गराएको थियो।
यसैबीच प्रदर्शनको इमरानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) र समर्थकहरूले तीनवटा मागसहित प्रदर्शन गरिरहेका छन्।
उनीहरूले इमरान खान तथा पीटीआई कार्यकर्तालाई रिहाइ, २०२४ मा भएको निर्वाचनको नतिजा स्वीकार गर्न र पाकिस्तानी संसदमा पारित भएको अदालतको शक्ति घटाउने २६औं संवैधानिक संशोधन ऐनलाई फिर्ता लिनुपर्ने माग राखेका छन्।
इमरान खान आफैँले यो विरोधका लागि अपिल गरेका थिए। उनले पीटीआई कार्यकर्ताहरूलाई नोभेम्बर २४ मा प्रदर्शनमा सामेल हुन वा पार्टी छोड्न निर्देशन दिएका थिए। इमरानले यो प्रदर्शनलाई अन्तिम कलको नाम दिएका छन्।
डी चोक इस्लामाबादको सबैभन्दा उच्च प्रोफाइल क्षेत्र हो। यस क्षेत्रमा राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद भवन र सर्वोच्च अदालत छन्।
सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन्। केही प्रदर्शनकारी कन्टेनरमा चढेको तस्बिर समेत देखिन्छ।
इस्लामावादमा प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली हान्ने आदेश
सरकारले राजधानी इस्लामावादमा हिंसा नियन्त्रण गर्न धारा २४५ लगाएको छ। जसमा प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली हान्न आदेश दिइएको छ। पाकिस्तानी सेनालाई कानून र व्यवस्था कायम राख्न कुनै पनि क्षेत्रमा कर्फ्यू लगाउने अधिकार दिइएको छ।
यसैबीच अमेरिकाले पाकिस्तान सरकारलाई मानवअधिकारको पालना गर्न अपिल गरेको छ।
जेलबाटै इमरानको सन्देश
विरोध प्रदर्शनका बीच इमरान खानले जेलबाट आफ्ना समर्थकहरूलाई सन्देश पठाएका छन्। यस सन्देशमा इमरानले समर्थकहरूलाई अन्तिम बलसम्म लड्न र पछि नहट्न आग्रह गरेका छन्।
इमरानले भने, ‘म पाकिस्तानका जनता र पीटीआई कार्यकर्तालाई सलाम गर्छु। तपाईले आफ्नो अधिकारको लागि यो शान्तिपूर्ण प्रदर्शनमा भाग लिनुभएको छ र हाम्रो देशमा थोपिएको माफिया विरुद्ध कडा लड्दै हुनुहुन्छ।’
मंसिर १२, २०८१ बुधबार ११:१६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।