नीतिगत भ्रष्टाचारको पोल खुलेपछि कार्यविधि बदल्दै मधेसका स्वास्थ्यमन्त्री सिंह, खरिद प्रक्रिया रद्द गर्न सचिवको लिखित निर्देशन
काठमाडौँ : मधेस प्रदेशका स्वास्थ्यमन्त्री सत्रुधन सिंहले मन्त्रालयको खरिद कार्यविधिमै स्पेशिफिकेशन राखेर निश्चित कम्पनीले मात्र स्वास्थ्य उपकरणको ठेक्का पाउनेगरी नीतिगत भ्रष्टाचार गरेको खुलासा भएसँगै प्रदेशको सबै खरिद प्रक्रिया रद्द गर्न निर्देशन गएको छ।
मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलगायतका निकायलाई पत्र पठाउँदै खरिद प्रक्रिया अगाडि नबढाउन र प्रक्रिया अगाडि बढेको भए रद्द गर्न मङ्गलवार निर्देशन दिएको हो।
उकेराले २०८१ मंसिर ९ गते स्वास्थ्यमन्त्री सिंहले नीतिगत रूपमा भ्रष्टाचार गर्दै मन्त्रालयले निर्माण गरेको वार्षिक कार्यविधि मै सामानको स्पेशिफिकेशन राखेको प्रमाणसहित खुलासा गरेको थियो। पारित भएको कार्यविधिमा बदनियतपूर्वक रूपमा निश्चित कम्पनीलाई फाइदा हुने प्रावधानहरू राखिएको थियो।
मन्त्रीको नीतिगत भ्रष्टाचारबारे उकेरामा प्रमाणसहित समाचार प्रकाशित भएको दुई दिनमा मन्त्रालयले कार्यविधिमा राखेको विवादित प्रावधानहरू संशोधन गरिरहेको जानकारस्रोतले उकेरालाई बतायो।
उकेराले प्राप्त गरेको पत्रले समेत स्रोतको दाबी पुष्टि हुन्छ। सो पत्रमा प्रस्टै ‘वार्षिक क्रियाकलापको सञ्चालन कार्यविधिको संशोधित मस्यौदा हाल मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन हुनुपर्ने कार्य प्रक्रियामा रहेको’ उल्लेख छ।
पत्रमा अर्थ मन्त्रालयको मार्गदर्शनमा उल्लेखित प्रक्रिया पुरा भई पूर्व स्वीकृति प्राप्त भएर सोको जानकारी यस मन्त्रालयबाट त्यहाँ पठाएपछि मात्र खरिद प्रक्रिया अगाडि बढाउन भनिएको छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले महिलामा हुने पाठेघर तथा स्तन क्यान्सरको परीक्षणका म्यामोग्राफी र नवजात शिशुको जन्मजात हुने विकलाङ्ग तथा जेनेटिक डिसअर्डरको स्क्रिनिङ गर्ने उपकरण लगायतका सामाग्री किन्न टेन्डर आव्हान गरिसकेको छ।
उकेराको खोजमा २० करोडमा महिलामा हुने पाठेघर तथा स्तन क्यान्सरको परीक्षणका म्यामोग्राफी र नवजात शिशुको जन्मजात हुने विकलाङ्ग तथा जेनेटिक डिसअर्डरको स्क्रिनिङ गर्ने उपकरण खरिद प्रक्रिया सुरु हुनु अगाडि नै मन्त्रालयको कार्यविधिमा मन्त्रीले खरिद गर्ने सामान कस्तो हुनुपर्ने भन्दै मापदण्डहरू नै राखिदिए। जबकि खरिद गर्ने सामानको मापदण्ड मन्त्रीले नभई सामान खरिद गर्ने कार्यालयको बायोमेडिकल इन्जिनियर लगायतको टिमले तयार पार्छ।
तर प्रदेश स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक कृयाकलपाहरुको सञ्चालन कार्यविधिमै कस्तो मेसिन किन्ने भन्ने विवरण राखेर पहिल्यै लक्ड गरिएको थियो। सोही कार्यविधिमा टेकेर प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले म्यामोग्राफी र जेनेटिक डिसअर्डरको स्क्रिनिङ गर्ने उपकरण लगायत खरिद गर्न टेन्डर आव्हान गरेको थियो।
मन्त्री ‘फरार’, सचिव भन्छन् ‘संशोधन हुँदैछ’
उकेराले प्राप्त गरेको पत्रमा मधेस प्रदेश, स्वास्थ्य मन्त्रालयका सचिव डा. सञ्जय कुमार ठाकुरको हस्ताक्षर रहेको छ। त्यसमा मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लगायतका निकायलाई सम्बोधन गरिएको छ।
मातहतका निकायलाई टेन्डर रद्द गर्न मङ्गलवार पठाएको पत्रमा,‘...मन्त्रालय मातहतका निर्देशनालय, केन्द्र वा कार्यालयले हाल कुनै टेन्डर प्रक्रिया सुरु गरेको भए यसै पत्रको आधारमा मधेस प्रदेशको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा–२ को उपदफा–१ बमोजिम उक्त कार्यविधि मन्त्रीपरिषद्बाट अनुमोदन भई जारी नभएसम्म सो कार्यविधिको मस्यौदा टेकेर गरेको कुनै पनि टेन्डर तत्कालै रद्द गर्न जानकारी गराइन्छ’ लेखिएको छ।
मधेस प्रदेश, स्वास्थ्य मन्त्रालयका सचिव डा सञ्जय ठाकुरले उकेरासँग कार्यविधिमा टेकेर प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत निकायले गरेको सम्पूर्ण खरिद रद्द गर्न निर्देशन दिएको बताए। डा. ठाकुरका अनुसार कार्यविधिको संशोधन मन्त्रिपरिषद्बाट अनुमोदन हुनै बाँकी रहेकाले यसमा टेकेर गरिने खरिद वैध नहुने बताए।
‘अहिले कार्यविधि ड्राफ्टिङ फेजमा नै हो,’सचिव डा. ठाकुरले भने ‘यो कम्प्लिट डकुमेन्ट हैन। यसलाई टेकेर टेन्डर गर भनिएको थिएन। यो कार्यविधिमा टेकेर कुनै पनि खरिद गर्न पाइएन।’
यसबारे मधेस प्रदेशका स्वास्थ्य मन्त्री सिंहसँग उकेराले आइतबार बेलुका सम्पर्क गर्दा ‘भीडमा छु, म पछि कुरा गर्छु नि...’भन्दै फोन राखेका थिए। सोमबार अनि मङ्गलवार उनलाई उकेराकर्मीले पटक पटक कल गर्दा पनि उनको कल उठेन। उनी उकेराका लागि ‘फरार’ समान बने।
मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा निर्देशक डा. राजीव झासँग यो विषयमा कुराकानीका लागि सम्पर्क गर्ने प्रयास गर्दा उनी पनि सम्पर्कमा आएनन्।
यसरी भएको थियो नीतिगत भ्रष्टाचार
मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक क्रियाकलापहरूको सञ्चालन कार्यविधिको पेज नम्बर ५२ देखि ७४ सम्म प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र अन्तर्गतका १७ वटा क्रियाकलापबारे उल्लेख छ। त्यसमा मेसिन, औजार, उपकरण तथा स्वास्थ्य सामग्री खरिद र व्यवस्थापनका विषय उल्लेख गरिएको छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र अन्तर्गतका १७ वटा क्रियाकलापमध्ये बुँदा नम्बर नौ मा ‘टुडी म्यामोग्राफी मेसिन थ्रिडीमा अपग्रेट गर्ने’गरी खरिद गर्ने विषय उल्लेख छ।
मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८१ कात्तिक ३० (२०२४, नोभेम्बर १५) मा ‘दी प्रकुमेन्ट सप्लाई अफ मेमोग्राफी मेसिन हाई इन्ड अपग्रेटेबल टु थ्रिडी’ उल्लेख गर्दै मेमोग्राफी खरिदका लागि टेन्डर आह्वान गरेको थियो। मन्त्रालयले दिएको निर्देशन अनुसार अब यो टेन्डर पनि रद्द गर्नुपर्ने हुन्छ।
यो मेमोग्राफी मेसिनको टेन्डर नम्बर ‘एमपी–पीएचएलएमसी–एनसीबी–गुड्स–५–२०८१–८२’ हो। जमानत रकमको आधारमा हेर्दा करिब दश करोडमा चार वटा ‘मेमोग्राफी मेसिन हाई इण्ड अपग्रेटेबल टु थ्रिडी’ खरिद गर्ने गरी मधेस प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद प्रक्रिया अगाडी बढाएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधिमा नै नीतिगत निर्णय गरी कस्तो मेसिन किन्ने भन्ने मापदण्ड राखेर निश्चित व्यापारीलाई टेन्डर दिन लक्ड गरिएको थियो।
त्यसैगरी प्रदेश स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१–०८२ को प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका क्रियाकलापको रूपमा राखिएको बुँदा नम्बर १२ मा जेनेटिक डिसअर्डर स्कृनिङ गर्ने उपकरण खरिद गर्नका लागि बजेट छुट्टाइएको उल्लेख छ।
बुँदा नम्बर १२ मा ‘प्रादेशिक अस्पतालहरूमा नवजात शिशुको जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिको अवस्था पहिचान गर्न र नवजात शिशु जेनिटिक डिसअर्डर स्कृनिङको लागि उपकरण...खरिद सञ्चालन तथा व्यवस्थापन शीर्षकमा बजेट विनियोजन’ गरिएको उल्लेख छ।
जेनिटिक डिसअर्डर स्कृनिङको लागि भन्दै मधेस प्रदेशले खरिद गर्न लागेको उपकरण कस्तो हुने भनेर मन्त्रालयकै कार्यविधिमै तोकियो। यो पनि उही माथिको म्यामोग्राफीकै शैलीमा।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८१ कात्तिक ३० (२०२४, नोभेम्बर १५) मा ‘दी प्रकुरमेन्ट एन्ड डेलिभरी अफ सेमी–अटोमेटेड फ्लोरोमिटर (प्रिनेटल एन्ड न्यु बर्न बेबी स्कृनिङ सिस्टम) उल्लेख गर्दै जेनेटिक डिसअर्डरको स्कृनिङ गर्ने मेसिन खरिदका लागि टेन्डर गरेको छ। जेनेटिक डिसअर्डरको स्कृनिङ गर्ने सम्बन्धी टेन्डर भएको यो मेसिनको टेन्डर नम्बर ‘एमपी–पीएचएलएमसी–एनसीबी–गुड्स–४–२०८१–८२’ हो। जमानत रकमको आधारमा हेर्दा जेनेटिक डिसअर्डरको स्कृनिङ गर्ने सम्बन्धी यो ‘सेमी–अटोमेटेड फ्लोरोमिटर (प्रिनेटल एन्ड न्यु बर्न बेबी स्कृनिङ सिस्टम)’ मेसिन करिब दश करोडमा खरिद गर्ने प्रक्रिया अगाडी बढाएको हो।
यी दुवै किसिमका मेसिन तथा उपकरणमा बायोमेडिकल इन्जिनियरले बनाउने स्पेशिफिकेशनमा कस्तो किन्ने भनेर तोक्नुपर्नेमा मन्त्री सिंहले मन्त्रालयको कार्यविधिमै कस्तो कस्तो मापदण्ड चाहिने भनेर राखिदिएका छन्।
मंसिर ११, २०८१ मंगलबार २२:१०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।