एमालेले प्रदेश सांसद चौधरीलाई गर्यो निलम्बन, कारण- केपी ओली र शंकर पोखरेललाई गालीगलौज गर्नु!

एमालेले प्रदेश सांसद चौधरीलाई गर्यो निलम्बन, कारण- केपी ओली र शंकर पोखरेललाई गालीगलौज गर्नु!

काठमाडौं : एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ। मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको पत्र पठाएका छन्।

विज्ञप्तिमा भनिएअनुसार गत कात्तिक ५ मा पार्टीलाई हानी नोक्सानी पुर्याउने मनशायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानि हुने गरी पार्टीका मूल्य, मान्यता विपरीत सार्वजनिक रूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा निरन्तर समाचार लेखेका कारण यसअघि उनलाई स्पष्टीकरण सोधिएको थियो। त्यसपछि पनि पार्टीविरुद्ध जवाफ दिएको भन्दै उनलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमीकमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईँलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु’, विज्ञप्तिमा भनिएको छ।

चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन्। लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्रीसमेत थिए। 

मंसिर ११, २०८१ मंगलबार २०:२५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।