सहकारी विश्वासघातमा प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति त्यही प्रहरी कार्यालयको प्रहरी निरीक्षक !
काठमाडौँ : सहकारीमा विश्वासघात गरेको अभियोग दर्ता भएपछि फरार प्रतिवादी खोज्न हिँडेको प्रहरीले आफ्नै सङ्गठनका बहालवाला प्रहरी निरीक्षक फेला पार्यो। एक वर्ष अगाडिबाट ती प्रहरी निरीक्षकलाई जुन प्रहरी कार्यालयले खोजिरहेको थियो उनी त्यहीँ कार्यरत थिए।
उनी हुन् स्वयम्भू वृत्तका प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया। मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको भन्दै उनको नाममा प्रहरी वृत्त स्वयम्भूमै २०८० भदौमा जाहेरी दर्ता भएको थियो। तर उनी फेला परेका थिएनन्।
फरार रहेका उनको स्थायी ठेगाना धादिङ जिल्ला, धुनिवेशी नगरपालिका वडा नम्बर-५ थियो। प्रहरीमा जाहेरी परेपछि अनुसन्धान सकायो। तर उनी पक्राउ परेनन्। प्रहरीले २०८१ साउनमा अनुसन्धान सक्काएर प्रस्तावित राय र सुझाव बुझाए अनुसार सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्यो।
यो बिचमा अकौलिया २०८१ भदौ २७ मा स्वयम्भू वृत्तमा सरुवा भएर आए। उनी सहकारीको सञ्चालक समिति सदस्य समेत थिए। आफ्नै कार्यालयले फरार रहेको भन्दै लगेको मुद्दाका फरार प्रतिवादी आफ्नै कार्यालयमा रहेको खुलेपछि स्वयम्भू वृत्तका डिएसपी उद्धव सिंह भाटले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखलाई सूचना दिए।
उनले उपत्यका प्रहरी कार्यालयसँग परामर्श गरेपछि मंसिर ४ मा पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा बुझाइयो। अदालतमा बुझाएपछि उनी एक लाख धरौटीमा रिहा भए। यता प्रहरीमा भने उनी निलम्बन रहे।
मंसिर ११, २०८१ मंगलबार २०:०१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।