रास्वपाले कीर्तिपुरमा आफूले पनि उम्मेदवार उठाएन, कसलाई सघाउनेबारे निर्णय पनि गरेन

रास्वपाले कीर्तिपुरमा आफूले पनि उम्मेदवार उठाएन, कसलाई सघाउनेबारे निर्णय पनि गरेन

काठमाडौं : यही मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयर पदमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार उठाएको छैन। त्यतिमात्र हैन, रास्वपाले कीर्तिपुरमा कसलाई सघाउने भन्नेबारे अहिलेसम्म निर्णय पनि लिएको छैन। 

काठमाडौं नगर सभापति प्रदीप विष्टका अनुसार रास्वपाले आफूले उम्मेदवारी नदिएपनि स्वतन्त्र उम्मेदवारमध्ये एकलाई समर्थन गर्ने र त्यसको लागि पार्टीले बैठक बसेर निर्णय लिने तय भएको थियो। तर, त्यहाँ उठेका चार स्वतन्त्र उम्मेदारमध्ये कसलाई सघाउने भन्ने रास्वपा अझै अनिर्णित छ। 

स्वतन्त्रबाट कीर्तिपुरमा ११ जनाले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार दिनेश श्रेष्ठले राजमानलाई सघाउने भएका छन्। त्यसमा पनि कीर्तिपुरमा राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी र डा नवरथकुमार बानियाँ मध्येबाट बलियो उम्मेदवारलाई भोलि/पर्सीमा समर्थन गर्ने रास्वपाका कीर्तिपुर सभापति जयराम कार्कीले जानकारी दिए।

यसअघि रास्वपाले कीर्तिपुरमा नगर सभापतिसमेत रहेका जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो। पार्टीले आह्वान गरेको उम्मेदवारीमा उनी एकजनाले मात्र दाबी पेश गरेका थिए। तर, पार्टीले आफ्नो उम्मेदवार नउठाउने निर्णय गर्यो। 

जबकि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० मा रास्वपाले तेस्रो मत प्राप्त गरेको थियो।

कीर्तिपुरमा मेयरसहित वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदैछ। कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, एमालेका डा. सुरेन्द्र महर्जन, माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार छन् भने एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ।

मंसिर ११, २०८१ मंगलबार १९:५६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।