बालेनसँग सञ्चारमन्त्री गुरूङको तुच्छ शब्दमा आक्रोश 'एमालेलाई जरिवाना तिराउने कहाँको महाराज भएछ त्यो मेयर?'
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई महाराजको संज्ञा दिएका छन्।
गत शुक्रबार सत्तारुढ दल एमालेले काठमाडौंको दरबारमार्गमा गरेको जागरण सभाका क्रममा फोहर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने पत्र पठाएपछि एमालेले अहिलेसम्म जरिवाना तिरेको छैन। एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूले बालेन एमालेविरुद्ध प्रयोग गरेको दाबी गरिरहेको बेला एमाले उपमहासचिवसमेत रहेका सञ्चारमन्त्री गुरूङले यही विषयमा बालेनप्रति आक्रोश पोखेका छन्।
कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्ता कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका गुरूङले एमालेलाई जरिवाना तिराउने अधिकार बालेनलाई नरहेको बताए।
'त्यसले कहाँबाट अधिकार पायो, एमालेलाई एक लाख जरिवाना तिर् भन्ने? काठमाडौंको मेयरले त्यसो भन्न पाउँछ?, उनले भनेका छन्, 'कहाँको महाराज भएछ त्यो?'
अहिले बालेनले जे भनेपनि ठीक भन्ने किसिमको माहोल बनेको उनले बताएका छन्। कुनै पार्टीले सभा गर्दा चिठी लेख्ने अधिकार बालेनलाई नरहेको उनको तर्क छ।
मन्त्री गुरूङले बालेन एमालेविरुद्ध प्रयोग हुन लागि परेको दाबी गरेका छन्।
मंसिर ११, २०८१ मंगलबार १८:१६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।