ट्रम्पको एक बोलीले घट्यो चीन र क्यानडाको मुद्राको भाउ
एजेन्सी : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइका कारण क्यानडा, मेक्सिको र चीनको मुद्रामा गिरावट आएको छ।
न्यूयोर्क टाइम्सका अनुसार मेक्सिकोको मुद्रा पेसो डलरको तुलनामा एक दिनमा १.१८ प्रतिशतले कमजोर भयो।
सोही समयमा क्यानेडियन डलर, अमेरिकी डलरको तुलनामा एक प्रतिशतले कमजोर भएको छ। यो सन् २०२० को मे यता कैनेडियन मुद्रामा आएको सबैभन्दा ठूलो गिरावट हो।
योसँगै चीनको मुद्रा युआन पनि घटेको छ। तर, यो मेक्सिकोको तुलनामा कम छ। चिनियाँ मुद्रा युआन डलरको तुलनामा ०.३ प्रतिशतले मात्र कमजोर भएको छ।
ट्रम्पले सपथ लिने बित्तिकै क्यानडा, मेक्सिको र चीनबाट अमेरिका आउने सामानमा भारी कर लगाउने घोषणा गरेका छन्।
ट्रम्पले यी तीन देशले लागूऔषध र अवैध आप्रवासीलाई नियन्त्रण नगरेसम्म अमेरिकाले लगाएको भारी करको मार भोग्नुपर्ने बताएका छन्।
ट्रम्पले सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै क्यानडा र मेक्सिकोमा २५ प्रतिशत ट्यारिफ लगाउने बताएका छन्।
उनले क्यानडा र मेक्सिको दुवैले चाहेमा अवैध आप्रवासी र लागूऔषध आपूर्तिलाई सजिलै नियन्त्रण गर्न सक्ने भए पनि त्यसो नगरेको आरोप लगाए।
उनले भने, ‘चीनले अवैध रूपमा अमेरिकामा ठूलो मात्रामा लागूऔषध पठाउँछ। मैले यसअघि पनि चीनसँग यो मुद्दा उठाएको थिएँ। त्यसपछि चिनियाँ अधिकारीहरूले लागुऔषध कारोबारी पक्राउ परे मृत्युदण्डको सजाय दिने वाचा गरे तर त्यसो गरेनन्।’
अमेरिकाले क्यानडा, मेक्सिको र चीनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको छ। यस अन्तर्गत यी देशहरूबीचको कुनै पनि प्रकारको आयात-निर्यातमा कुनै शुल्क लाग्ने छैन।
आफ्नो अन्तिम कार्यकालमा ट्रम्पले मेक्सिको र क्यानडासँग नर्थ अमेरिका फ्री ट्रेड एग्रीमेन्ट (नाफ्टा) मा हस्ताक्षर गरेका थिए। यदि ट्रम्पले सत्तामा आएपछि यी देशहरूमा कर लगाएमा त्यो सम्झौताको उल्लङ्घन हुनेछ।
मंसिर ११, २०८१ मंगलबार १४:४५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।