‘रावायण’को धक्काले अत्तालिएका पलको ‘मायावी’ फागुन १४ मा, जिग्री-पाँडेको ‘लाज शरणम’सँग भिड्दै

‘रावायण’को धक्काले अत्तालिएका पलको ‘मायावी’ फागुन १४ मा, जिग्री-पाँडेको ‘लाज शरणम’सँग भिड्दै

काठमाडौं : नाबालिका बलात्कार आरोपमा एक वर्ष जेलमा बिताएर फिल्म क्षेत्रमा फर्किएका पल शाहको अहिले राम्रो समय चलिरहेको छैन। कारागारबाट बाहिरिएपछि महंगो पारिश्रमिकमा धमाधम म्युजिक भिडियो गरे। त्यसपछि ‘पूजार सार्की’, ‘रावायण’ र ‘मायावी’मा पनि काम गरे।

यसमध्ये प्रदीप खड्का र आर्यन सिग्देलसँग समूहमा अभिनय गरेको फिल्म ‘पूजार सार्की’ले राम्रै व्यापार गर्यो। त्यसैको लोभमा नायिका पूजा शर्माले पललाई टिममा लिएर ‘रावायण’ बनाइन्। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा त्यसअघि अनमोल केसीलाई राख्ने चर्चा थियो।

सुदर्शन र अनमोलबीच विवाद भएपछि फिल्मबाट अनमोलले हात झिकेका थिए। त्यसपछि अनुबन्ध भएका हुन् पल शाह। ‘पुजार सार्की’को व्यापारले लोभिएका निर्देशक सुदर्शन र निर्मात्री पूजा, फिल्म हलमा नचलेपछि बोलचाल बन्दसम्मको अवस्थामा पुगेको थियो।

‘पुजार सार्की’पछि धमाधम फिल्म पाएका पल शाहले ‘रावायण’को व्यापारपछि आएका फिल्मबाट पनि निकालिए। फिल्ममा अनुबन्ध भएको कलाकारले पल शाहसँग फिल्ममा काम नगर्ने भनेपछि ‘कल्ली’ फिल्मले उनलाई फिल्मबाट निकालेको चर्चा छ।

यता निर्देशक दिवाकर भट्टराई ‘रावायण’ चल्यो भने आफ्नो फिल्म ‘मायावी’ चल्छ भनेर प्रदर्शन मिति कात्तिक १५ गते राखेका थिए। तर पल शाहको अभिनय र फिल्मको समीक्षा पनि गतिलो आएन।

निर्देशक भट्टराईले हत्त न पत्त फिल्मको प्रदर्शन गर्न रोकिए। तर अहिले पलको आलोचना विस्तारै मत्थर हुँदै गएपछि निर्देशक भट्टराईले दोस्रो पटक फिल्मको प्रदर्शन मिति तोकेका छन्- फागुन १४ गते।

एक वर्षअघि नै निर्माण भएर हार्डडिक्समा थन्किएर बसेको फिल्मलाई निर्देशक भट्टराईले महाशिवरात्रीको अवसर पारेर रिलिज गर्न लागेका हुन्। फिल्मको प्रदर्शन रोक्नुपरेपछि उनले राजेश हमाललाई लिएर ‘नरसिंहा’ निर्देशन गरिरहेका थिए।

फागुन १४ मा ‘सक्किगोनी’ टिमको फिल्म ‘लाज शरणम्’पनि प्रदर्शनमा आउँदैछ। २ महिना अघि कुमार कट्टेल र अर्जुन घिमिरेले काठमाडौंको बिग मुभिज्मा एक भव्य कार्यक्रमको आयोजना गरि फिल्मको घोषणाका साथै प्रदर्शन मिति तोकेका थिए।

यसले गर्दा पनि पल अभिनित फिल्म ‘मायावी’लाई धक्का पर्ने देखिन्छ।

मंसिर ११, २०८१ मंगलबार १३:५२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।