सर्वोच्च अदालतको बोर्डमा विनुले छ्यापिन् कालो मसी

सर्वोच्च अदालतको बोर्डमा विनुले छ्यापिन् कालो मसी

काठमाडौं : घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन्।

कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै बोतलमा ल्याएको कालो रङ सर्वोच्चको बोर्डमा फ्याँकेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

मसी छ्यापेपछि ‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा विरूप बनेको थियो। विनुलाई अहिले प्रहरीले सिंहदरबार प्रहरी वृत्त लगेको छ।

रामेछापको मन्थलीका प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि यसअघि अदालत परिसरमै विष सेवन गरेकी थिइन्।

बिनुले प्रदीपका काका व्यवसायी पवन कठायत विरुद्ध गत बैशाख ७ गते बलात्कारको प्रयास गरेको भन्दै जिल्ला अदालत रामेछापमा पनि मुद्दा दायर गरेकी छन्। जिल्ला अदालत रामेछापले कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रदीपसँग प्रेम सम्बन्ध भएपछि विवाह गरी मन्थली पुगेकी बिनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आएकी छिन्। जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको उनको आरोप छ।

उनको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र महेश शर्मा पौडेलको इजलासमा छ।

मंसिर ११, २०८१ मंगलबार १२:२६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।