कर्णाली विकास बैंक समस्यामा, बचत र ऋण दुवै रोक्यो राष्ट्र बैंकले
काठमाडौँ : कर्णाली विकास बैङ्कको वित्तीय अवस्था जोखिमपूर्ण देखेपछि नेपाल राष्ट्र बैंकले मङ्गलवारबाट निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवै काम गर्न रोक लगाएको छ।
बैङ्कमा निरीक्षणको क्रममा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको र निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको देखिएपछि राष्ट्र बैंकले सो बैङ्कलाई समस्याग्रस्त रहेको भन्दै बैङ्किङ गतिविधिमा रोक लगाएको हो।
राष्ट्र बैंकले जारी गरेको सूचनामा संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको भन्दै निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्न थप निक्षेप सङ्कलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको उल्लेख छ।
राष्ट्र बैंकले यो कारबाहीलाई शीघ्र सुधारात्मक कारबाही भनेको छ। बैंक नेपालगन्जमा छ।
खराब वित्तीय सूचक तर शेयर मूल्यमा उछाल
वित्तीय अवस्था खराब रहेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको कर्णालीको सेयर मूल्य भने उकालिएर प्रतिकित्ता ८४० रुपैयाँ पुगेको छ। यसले शेयर बजारमा हुने चलखेल देखाउँछ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा घाटा उल्लेख गरे पनि शेयर बजारमा भने मूल्य बढेको बढ्यै थियो।
मंसिर ११, २०८१ मंगलबार ११:४६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।