उडानले उत्साही उद्यमी, तर बढेनन् यात्रु
बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच वटा वायुसेवाले उडान थालेका छन्।
लामो प्रतिक्षा पछि पाँच वटा वायुसेवा कम्पनीले उडान शुरू गरेसँगै निजी क्षेत्र उत्सािहत भएका छन्। यात्रुहरू समेत सिधा आफ्नै भूमिमा आउँन पाउँदा खुसी छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सातामा २३ वटा अन्तराष्ट्रिय उडान हुन थालेको छ। चारवटा सीधा उडान भएका छन् भने १९ वटा उडान ‘कनेक्टिभ’ हुन्।
अपेक्षाकृत रूपमा यात्रुको संख्या नबढे पनि उडान शुरू हुनुलाई धेरैले सुखद् मानेका छन्। अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नत्तिका कारण दैनिक १० घण्टा बन्द छ। त्यसको लाभ यहाँको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लिनुपर्ने भए पनि अपेक्षा अनुसार यात्रुको आर्कषण बढेको छैन।
सरकारले विमान कम्पनीहरूलाई विशेष छुट दिए पनि हवाई टिकट अत्याधिक महँगो हुँदा भैरहवा ओर्लिने यात्रु बढ्न नसकेका हुन्। ओर्लिने यात्रुको संख्या कम भए पनि विमानस्थल प्रयोग गरेर जाने यात्रुहरूले भने पछिल्ला दिनहरूमा क्रमश बढिरहेका छन्।
जजिरा एअरवेजले मंगलबार, बिहीबार र शनिबार कुवेत-भैरहवा सीधा उडान गर्छ। थाई एअर एसियाले बिहीबार बैंकक-भैरहवा उडान गर्दै आएको छ। नेपाल एअरलाइन्स, कतार एअरलाइन्स र फ्लाई दुबईले गर्ने उडान भने भैरहवा भएर काठमाडौं अथवा काठमाडौं हुँदै भैरहवा ट्रान्जिट भएर गन्तव्यतर्फ जाने गरेका छन्।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसिया र जजिराले राम्रो यात्रु पाएका छन्। उनका अनुसार थाइ एयर एसियाले ४ पटक उडान गर्दा २ सय ३४ ले यात्रु आवाजजावत गरेका छन्। जजिराले १२ पटक उडान-अवतरण गर्दा १ हजार ८ सय ३३ यात्रु ओहोरदोहोर गरिसकेको उनले बताए।
फ्लाई दुबईले दुवई-भैरहवा-काठमाडौं-दुवई गर्छ। फ्लाई दुवईले २६ पटक उडान-अवतरण गर्दा ४ सय ६० यात्रुले भैरहवाबाट ओहोरदोहोर गरेका छन्। भैरहवा हुँदै काठमाडांैं जाने यात्रु १ हजार ४ सय ६१ छन्।
कतार एयरवेज हुँदै भैरहवा अवतरण र यहाँबाट उडान भर्ने यात्रुको संख्या न्यून देखिएको छ। तिवारीका अनुसार अहिलेसम्म कतार एयरवेजको जहाजले यहाँ २० पटक उडान-अवतरण गरिसकेको छ। यस अवधिमा ३३ यात्रुले भैरहवाबाट ओहोरदोहोर गरेका छन्। कतार एयरवेजबाट भैरहवा हुँदै काठमाडौं जाने यात्रुको संख्या ६ सय ४३ छ।
नेपाल एयरलाइन्सले अहिलेसम्म यहाँबाट १२ पटक उडान-अवतरण गरेको छ। यस अवधिमा जम्मा ८ यात्रु भैरहवा आएका छन्। भैरहवा हुँदैं काठमाडौं जाने यात्रुको संख्या ९ सय २१ छ।
नेपाल एयरलायन्सले काठमाडौं-भैरहवा-दुवई सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ। नेपाल एयरलायन्सको जहाज काठमाडौंबाट राति १०ः२० बजे भैरहवा अवतरण गरेर आधा घण्टापछि दुवईका लागि उडान भर्दै आएको छ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले उडानलाई निरन्तरता बनाउन सरोकार वाल पक्षले ध्यान दिनुपर्ने बताए।
‘अब सरकारले यहाँबाट उडानलाई निरन्तरता दिन यात्रुहरूका लागि श्रम, इमरजेन्सी पासपोर्ट वितरण गर्नुपर्छ। यसो भएमा यात्रु काठमाडौं जाने बाध्यता हट्छ। अनि यही विमानस्थलबाट सिधा गन्तव्यमा जान सक्नेछन्’, उनले भने।
मंसिर ११, २०८१ मंगलबार ११:२३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।