एनपीएल टिम परिचय : क्रिकेटसँगै प्रचारप्रसारमा अब्बल करणको काठमाडौं

एनपीएल टिम परिचय : क्रिकेटसँगै प्रचारप्रसारमा अब्बल करणको काठमाडौं

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ हुने मिति नजिकिँदै छ। मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीहरूबारे उकेराले नियमित रूपमा जानकारी गराइरहेको छ।

यसअघि कर्णाली याक्स, विराटनगर किंग्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्सबारे जानकारी गराइसकेका छौँ। आज हामी तपाईंहरूलाई दोस्रो सबैभन्दा बढी रकम हालेर खरिद गरेको टिम काठमाडाैं गुर्खाजबारे जानकारी दिनेछौँ।

कान्तिपुर पब्लिकेसन्स प्रालिले काठमाडौंको टिमलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो। यसको मालिकको रूपमा कैलाश सिरोहिया, उपेन्द्र महतो र अरुण सर्राफ रहेका छन्।

मार्की खेलाडीको रूपमा राष्ट्रिय क्रिकेट टीमका फास्ट बलर करण केसी पाएको टोलीले मुख्य प्रशिक्षकमा बसन्त शाहीलाई नियुक्त गरेको छ। बसन्त शाहीले केही समयअघिसम्म नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षकको रूपमा काम गरेका थिए।

टोलीले आफ्ना लागि अक्सनमार्फत १० खेलाडी छनोट गरेको छ। अक्सनबाट टोलीले बायाँहाते स्पिनर साहब आलम र ब्याटर भिम सार्कीलाई समान १५-१५ लाख रुपैयाँमा खरिद गर्यो।

यसका अलावा टोलीले अलराउन्डर रशिद खानलाई १० लाख रुपैयाँमा टोलीमा अनुबन्ध गर्दा शंकर रानालाई नौ लाख ५० हजार र दीपेश कँडेललाई पाँच लाख रुपैयाँमा टोलीमा राख्यो।

त्यसैगरी सुमित महर्जन र कृष्ण कार्कीलाई पाँच-पाँच लाख रुपैयाँमा टोलीमा समावेश गरेको गुर्खाजले विवेक केसी, प्रतिक श्रेष्ठ र राजु रिजाललाई समान दुई-दुई लाख रुपैयाँमा टोलीमा भित्र्यायो।

विदेशी खेलाडीको रूपमा गुर्खाजले नामिबियाका अलराउन्डर जिरार्ड इरास्मस, नेदरल्यान्ड्सका टप अर्डर ब्याट्सम्यान माइकल लेभिट, इंग्ल्यान्डका मिडिल अर्डर ब्याट्सम्यान स्टेफन एस्किन्जी र इंग्ल्यान्डकै बलर डान डथवेटलाई टोलीमा समावेश गरेको छ।

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको टोलीले काठमाडौंमा एक ग्रान्ड कार्यक्रमका बीच जर्सी समेत सार्वजनिक गरेको थियो। कालो रङको जर्सीमा गुर्खाजको लोगोमा रहेको पहेँलो रङ पनि मिसिएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा भएको ट्यालेन्ट हन्टमार्फत टोलीले अलराउन्डर क्रिस कार्कीलाई लोकल आइकनिक प्लेयरको रूपमा समावेश गरेको छ। त्यसबाहेक टोलीले छ जनालाई डेभलपमेन्ट स्क्वायड भनेर छानेको छ।

डेभलपमेन्ट क्वायडमा परेका खेलाडीहरूमा विपिन न्यौपाने, अर्थव पौडेल, असिम श्रेष्ठ, शार्दुल भट्ट, राजेन्द्र बम र कमल गुप्ता रहेका छन्। उनीहरूलाई गुर्खाजले विभिन्न तालिम दिएर केही वर्षमा टोलीमार्फत एनपीएल खेलाउनेछ।

गुर्खाजले वीवाईडीलाई आफ्नो मुख्य प्रायोजकको रूपमा टोलीमा भित्र्याउँदा नेपाल मेडिसिटी अस्पताललाई मेडिकल र याक एण्ड यती होटललाई हस्पिटालिटी पार्टनरको रूपमा जोडेको छ। टोलीले मंसिर ५ गते काठमाडौं कन्सर्टको समेत आयोजना गरेको थियो। जहाँ कुटुम्ब र नितिश जंग कुँवरले आफ्नो प्रस्तुति दिएका थिए।

‘वल वल काठमाडौं’ नामक एन्थेम सार्वजनिक गरेको छ। माइन्डट्युन प्रडक्सनका भास्कर स्वार र सुवास पौडेलको संगीत रहेको उक्त एन्थेमलाई सुष्मा सिग्देलले लेखेकी हुन्।

यसैबीच काठमाडौं गुर्खाजले खेलअघि कर्णाली याक्सविरुद्ध मंसिर १० गते मुलपानी मैदानमा अभ्यास खेल खेले पनि पराजित हुन पुग्यो। टोलीका एक विदेशी खेलाडी माइकल लेभिट नेपाल आएर टोलीको अभ्यास सत्रमा जोडिइसकेका छन्।

सामाजिक सञ्जालमा पछ्याउनेहरूको कुरा गर्ने हो भने गुर्खाजको फेसबुकमा ४५ हजार, एक्समा पाँच सय ५६, इस्टाग्राममा छ हजार पाँच सय र टिकटकमा सात हजार दुई सय फलोअर्स छन्। गुर्खाजले आफ्नो सामाजिक सञ्जाललाई यस्तो एक्टिभ राखेको छ कि त्यहाँ टिमका स-साना गतिविधिहरूलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ।

मार्की खेलाडीकै कुरा गर्ने हो भने अन्य टोलीको भन्दा करण केसी अलि धेरै मिडियामा छाएका छन्। काठमाडौंका प्राय टेलिभिजन र अन्य अन्तरवार्तामा पनि उनले राम्रै समय दिएका छन्। अन्य टिमका मार्की खेलाडी आफ्नो घरेलु टोलीमा भ्रमणमा जाँदाको समय काठमाडौंले आफ्नो मार्की खेलाडीलाई टिमको प्रचारमा लगायो।

एनपीएलका लागि नेपाल क्रिकेट संघ(क्यान)ले सिद्धार्थ बैंकलाई मुख्य प्रायोजकको रूपमा अनुबन्ध गरिसकेको छ भने एनसेल यसको ‘पावर्ड बाइ’ साझेदारको रूपमा अगाडि आइसकेको छ। साथै यसको टिकेटिङ पार्टनरको रूपमा खल्तीसँग क्यानले सम्झौता गरेको छ। खल्तीले टिकट बुकिङ समेत खुला गरिसकेको छ।

प्रतियोगिताकै लागि भनेर त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नति गरिएको छ। यसको बाउन्ड्री बढाइएको छ भने दर्शकलाई जोन अनुसार बस्ने व्यवस्था मिलाएर अस्थायी रूपमा खानेपानी र शौचालयको व्यवस्था मिलाएको छ।

यसको अलावा क्यानले बढी मूल्य तिरेर राम्रैसँग खेल हेर्छु भन्ने दर्शकका लागि भीआईपी र भीभीआईपी सिटको समेत व्यवस्था गरेको छ। जसका लागि त्रिवि क्रिकेट मैदानमा अस्थायी प्याराफिट बनाएर त्यहाँ कुर्सीहरू राख्ने क्रम जारी छ।

प्रतियोगिताका सबै खेलहरू भारतीय चर्चित च्यानल स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुनेछ। क्यानले प्रधानमन्त्रीमार्फत प्रतियोगिताको ट्रफी समेत अनावरण गरिसकेका छन्।

एनपीएल टिम परिचय:-

मंसिर ११, २०८१ मंगलबार १०:२१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।