अल नासरको जितमा रोनाल्डोको दुई गोल
काठमाडौं : एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत गएराति भएको खेलमा साउदी क्लब अल नासरले सहज जित निकालेको छ।
अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराएको हो।अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा एन्जेलो गाब्रियलले एक गोल गरे।
घराफाका जोसेलुले गरेको गोल सान्त्वना बन्यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरूवातमै गोल भएको थियो। ४६औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसैगरी ५८औं मिनेटमा गाब्रियलले टोलीको अग्रता दोब्बर पारे। त्यसको ६ मिनेटपछि ६४औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अग्रसर गराएका थिए। योसँगै रोनाल्डोले आफ्नो करियर गोलसंख्या ९१३ पुर्याएका छन्।
७५औं मिनेटमा जोसेलुले गोल फर्काएपनि घराफा खेलमा फर्कन भने सकेन। ८४औं मिनेटमा सेडोयु सानोले रातो कार्ड पाउँदै मैदान छाडेपछि अन्तिम केही समय घराफा १० खेलाडीमा सीमित बनेको थियो।
यस जितसँगै एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत समूह बी मा रहेको अल नासरको ५ खेल मा १३ अंक भएको छ र दोस्रो स्थानमा छ। अल घराफा ४ अंकसहित आठौं स्थानमा छ।
मंसिर ११, २०८१ मंगलबार ०८:३१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।