धितोपत्र बोर्डको अध्यक्ष बिचौलियाले नियुक्त गरे, ओलीजी र हामीबीच यही विषयमा कुरा मिलेको थिएन : वर्षमान
काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएपछि माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकार स्वार्थ समूहले चलाएको छ भन्ने कुरा पुष्टि भएको बताएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री रहेका पुनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा आफूले बिचौलियाले भनेको नमानेपछि सरकार ढलेको आरोप लगाउँदै आएका छन्। सरकारले आजै बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेपछि यो नियुक्ति सरकार ढाल्ने स्वार्थ समूहले नै गरेको पुनको आरोप छ।
एमालेको समर्थनमा अघिल्लो सरकार चलाएको माओवादीले एमाले अध्यक्ष ओलीसँग धितोपत्र बोर्डकै अध्यक्ष नियुक्तिका विषयमा कुरा नमिलेको र आफूहरूको सरकार ढल्नुको अनेकन् कारणमध्ये यो पनि रहेको दाबी गर्दै आएको छ। यही समूहले आज बोर्ड अध्यक्ष नियुक्त गरेको र भोलि गभर्नर पनि नियुक्त गर्ने भन्दै पुनले दाबी गरे।
उनले भने, ‘ओलीजी र हाम्रोबीचमा सँगै सरकारमा हुँदा नमिलेको कुरामध्ये यो पनि प्रमुख हो। हाम्रो स्वार्थ नमिल्दा सरकार ढलेको हो कि भन्ने थियो। जनताले बुझ्ने तहमै छर्लङ्ग भएको छ। हामीले भन्दा सरकारबाट हट्दाको पीडा बोलेको भन्नेहरू पनि थिए। अब हामीले भन्नै परेन। उहाँहरूले आफैंले पुष्टि गरिदिनुभयो। बिचौलियाहरूको चलखेल यत्तिमा मात्र रोकिँदैन। धितोपत्र बोर्ड, राष्ट्र बैंक, बीमा, जस्ता नियामक निकाय अब बिचौलियाको हातमा जान्छ।’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। त्यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले आइतबार श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीलाई सिफारिस गरेको थियो।
मंसिर १०, २०८१ सोमबार २२:०५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।