कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन 'कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन'

कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन 'कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीहरूलाई लामो समय कुनै पनि फाइल नरोक्न निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले आफूले परीक्षणका लागि तीन महिना बढी पालो कुर्न परे फोन गर्न सर्वसाधारणलाई जानकारी गराएकामा हालसम्म तीन वटा मात्र फोन आएकाले केही सुधार भइरहेको सङ्केत गरेको बताए। 

'कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन। सरकारी कामको यो रवैया हुनुभएन, उनले भने। 

मन्त्री पौडेलले सेवा सुधारमा लाग्न आग्रह गर्दै थपे, 'यो योजना पूरा गर्न यो काम चाहियो भनेर को आएको छ? हामीले नागरिकको जिम्मेवारी पूरा गर्न आएका छौं। कामका लागि आएका हौं भन्ने सोच्नुपर्छ।'

उनले योजनामा सीमित नभइ अब कार्ययोजना लिएर कर्मचारीलाई आउन आग्रह गरे। उनले विदेश भ्रमण जाने समयलाई पाँच दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन निर्देशन दिए। 

मन्त्री पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरूसँग आग्रह गरे। 

'पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैले समीक्षा गरौं। स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔं, उनले भने। 

मन्त्री पौडेलले आमनागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कम भार पर्ने गरी काम गरिएको बताए।  

मंसिर १०, २०८१ सोमबार २१:४८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।