एनपिएलको लागि क्यानले तोक्यो टिकट मूल्य, सिजनल पासको पनि व्यवस्था
काठमाडौं : आगामी शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको टिकट मूल्य सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रूपैयाँ तोकिएको छ भने भिआइपीतर्फको टिकट मूल्य ७०० रूपैयाँ तोकिएको छ। लिग चरणको अन्य दिनका खेलहरूमा यही मूल्य तोकिएको छ।
प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रूपैयाँ र भीआईपी टिकट ७०० रूपैयाँको हुनेछ। फाइनल खेलमा जनरल टिकट ५०० र भीआईपी टिकट १००० रूपैयाँको हुनेछ।
क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ। क्यानले सिजनल पास खरिद गर्ने समर्थकलाई २० प्रतिशत छुट दिएको छ। त्यसअनुसार सामान्यतर्फ चार हजार ४८० रुपैयाँ र भिआइपीतर्फ आठ हजार २४० रुपैयाँमा सिजनल पास किन्न सकिने छ।
क्यानले सिजनल पास खरिद गर्ने दर्शकलाई एक्रिडिटेसन कार्ड र आधिकारिक मर्चन्डाइजको व्यवस्था गरिनेसमेत जनाएको छ।
क्यानको आयोजनामा हुन लागेको एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ सम्म सञ्चालन हुने छ। प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन्।
प्रतियोगिताको पहिलो संस्करणमा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने छन्।
मंसिर १०, २०८१ सोमबार २१:१४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।