स्पेनका पूर्वराजा जुआन कार्लोसविरूद्ध कर सम्बन्धी कसुरमा मुद्दा दायर
एजेन्सी : स्पेनका पूर्वराजा जुआन कार्लोसमाथि कर सम्बन्धी कसुरमा अवकाश प्राप्त न्यायाधीशको समूहले मुद्दा दायर गरेको छ।
मार्च २०२२ मा स्पेनी अभियोजकहरूले उनको सम्पत्तिसम्बन्धी तीन वटा अनुसन्धानलाई अपर्याप्त प्रमाण र कानूनको सीमितताको कारण बन्द गरेका तर, अनुसन्धानका क्रममा धेरै अनियमितताहरू फेला पारेको बताएका थिए।
तीमध्ये खाडी राष्ट्रका राजाबाट आकर्षक उपहारहरू लिएको र युरोपको लिस्टेन्स्टीनमा सक्रिय एक फाउन्डेसनद्वारा सहयोग भएका निजी भ्रमण कानुन विपरीत भएको अभियोजकको दाबी थियो।
स्पेनी पूर्वराजा कार्लोसले आफ्नो कर दायित्व पूरा गरेको वा नगरेको भन्ने निर्णय सरकारी वकिलले भन्दा अदालतले गर्नुपर्ने उजुरीकर्ताहरूले बताएका छन्।
स्पेनी कर अधिकारीहरूलाई अघोषित आयको बक्यौता रकम अन्तर्गत ८६ वर्षीय कार्लोसले ५० लाख युरोभन्दा बढीको दुई भुक्तानी गरे।
स्पेनको सर्वोच्च अदालतका पूर्वन्यायाधीश जोस एन्टोनियो मार्टिन प्यालिनले सन् २०१४ देखि २०१८ सम्मको आय विवरणनियमित गर्ने काम कानुनअनुसार नभएको बताए।
उनले भने, 'हामीलाई जेल सजाय लागू गर्न अलिकति पनि चासो छैन, तर सकेसम्म कडाभन्दा कडा जरिवाना लगाउनुपर्छ।'
उजुरीकर्तामा कानुनविद्, दार्शनिक र पत्रकार पनि रहेको पल्लिनले बताए।
जुआन कार्लोसले सन् १९७५ मा लामो समयदेखि तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको प्रजातन्त्रको रूपान्तरणमा खेलेको भूमिकाको व्यापक प्रशंसा पाएका थिए। सन् २०१४ मा राजगद्दी त्यागेपछि उनीमाथि कर छली र आर्थिक अनियमितता गरेको खुलासाले उनको प्रतिष्ठामा अपूरणीय क्षति पुर्याएको छ र यसले स्पेनी दरबारबारे निकै नकारात्मक प्रभाव परेको छ।
उनीमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उनी सन् २०२० मा संयुक्त अरब इमिरेट्समा स्वनिर्वासित भएका थिए।
मंसिर १०, २०८१ सोमबार २०:५२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।