नेपालको पहिलो महिला द्वन्द्व निर्देशक किरणको अनुभव 'महिला भन्दै सुरूमा धेरैले पत्याएनन्'
रामेछापको पकरवास भन्ने ठाउँमा जन्मिएकी किरण दाहाल नेपाली फिल्मी क्षेत्रको पहिलो महिला द्धन्द्ध निर्देशक हुन्। २०३९ सालमा जन्मिएकी किरणको परिवार रामेछापबाट सर्लाहीको लालबन्दीमा बसाइ सर्यो। त्यसबेला उनी ३ बर्षकी थिइन्।
मध्यम परिवारमा जन्मिएकी किरण परिवारकी जेठी छोरी हुन्। उनीबाहेक छ भाइ र एक बहिनी छिन्। बुवा नेपाल आर्मीमा जागिरे थिए। घरकी जेठी छोरी भएकोले पनि घरपरिवारको जिम्मेवारी उनीमा पनि सर्याे। उनी बुवाकै कमाइको भर परिनन्। जसको परिणामस्वरूप किरण आफ्नो भविष्य आफैं बनाउन काठमाडौं आइन्।
000
पहिलो तलब ३ हजार
सर्लाहीमै कराँते सिकेकी किरणले आफूलाई अझै पोख्त बनाउन उनले काठमाडौं रोजिन्। त्यसैकारण २०५८ सालमा एसएलसी दिएपछि उनी थप अध्ययनको लागि काठमाडौं आइन्। तर, काठमाडौं आएपछि भने उनलाई थप अध्ययन गर्न मन लागेन।
खेलमा नै आफ्नो भविष्य बनाउने उद्देश्य राखेर काठमाडौं छिरेकी किरणलाई सुरूआती दिनमा काठमाडौं बसाई सहज थिएन। काठमाडौँमा न परिवार थियो न त नातागोता नै। त्यसैले उनी एक्लै बस्न थालिन्। तर, बस्दै जाँदा उनको रूममेटको रूपमा एकजना साथी आइन्। उनको नाम थियो, सुनिता उप्रेती।
सुनिता मेडिकल पसलमा काम गर्थिन् अनि किरण चाहिँ कराँते सिकाउने काम खोज्न निस्किइन्। नभन्दै एउटा ट्रेनिङ सेन्टरमा कराँते सिकाउने काम पाइन्। तलब थियो ३ हजार रूपैयाँ। त्यसमा पनि १ हजार आफैंले कराँते सिकेको ठाउँमा तिर्नुपर्थ्यो भने बाँकीले काठमाडौंमा जिउन पर्ने बाध्यता थियो। केही महिना त यसरी नै बित्यो। बिस्तारै ३ हजारले काठमाडौंमा जिउन नसक्ने भएपछि उनी थप कामको खोजीमा लागिन्। फेरिपनि स्कुलहरूमा कराँते सिकाउने काम पाइन् ।
यो काम पनि उनको लागि लामो समय टिकेन। अनि थप आफूलाई निर्खान उनी दशरथ रंगशालातिर लागिन्। त्यहाँ उनका गुरू थिए, योगेश श्रेष्ठ। योगेशसँग भेटिनु किरणको लागि वरदान बन्यो। नेपाली फिल्म क्षेत्रमा गुण्डाको परिचय बनाएका योगेशले किरणलाई फिल्मी क्षेत्रमा द्धन्द्ध निर्देशकको रुपमा काम गर्न सिकाए।
‘म पहिला रंगशालामा कराँते सिक्थें। त्यो समयमा योगेन्द्र गुरू लगायतलाई भेटें। उहाँहरूले पहिला नै फिल्म खेलिसक्नु भएको थियो,’ उनले सम्झिन्।
त्योबेला फिल्ममा फाइट सिकाउने व्यक्ति हुन्छन् भन्ने जानकारी नै नभएकी किरणलाई उनै योगेशले फिल्ममा द्धन्द्ध निर्देशन गर्न आग्रह गरेका थिए। उनी फिल्मी क्षेत्रमै लाग्छु भनेर काठमाडौं आएकी थिइनन्। तर, परिणामस्वरूप उनले नजानेको पेशा अंगाल्नुपर्याे।
‘कस्तो हुन्छ फिल्म खेल्दा भन्ने हुन्थ्यो। त्यतिन्जेलसम्म उहाँहरूको फिल्म पनि हेरेको थिइँन। तर, साथीहरूले उहाँहरू फिल्मको भिलेन हो भन्थे। म पनि त्यस्तै हुन पाए हुन्थ्यो भन्ने सोच आउँथ्यो। फेरिपनि फिल्ममा द्धन्द्ध नै गर्छु भन्ने थिएन,’ उनले भनिन्।
आर्मीमा फेल भएपनि द्धन्द्ध निर्देशनमा ‘पास’
घरमा बुवा आर्मी थिए। त्यसको छाप किरणमा पनि पर्याे। उनी आर्मीमा जाने भनेर पहिलैदेखि कराँते सिकेकी थिइन। तर, उनलाई आर्मीले लिएन। त्यसपछि आफूलाई थप पोख्त पार्न उनी काठमाडौं आएकी हुन्।
‘मेरो घरमा पहिला यस्तो कुराहरू बन्द थियो। तर, मेरो रहर भएकोले कराँते सिकेको हो। छोरी मान्छेलाई गाउँमै पनि पहिलो कराँते सिक्ने केटी हो म। मैले कराँते सिके भनेर ममी, बुवाहरू कति बर्ष नै बोल्नु भएन’ उनी भन्छिन्, ‘आफूसरह साथीहरूले घरको काम गर्ने म भने कराँते भन्दै हिँड्ने भएकोले त्यति राम्रो व्यवहार थिएन मलाई। तर, अहिले भने सबैले बुझ्नु भयो। अहिले राम्रो छ घरमा पनि। सुरू-सुरूमा गाह्रै थियो।’
....त्यसपछि फिल्म क्षेत्रमा
काठमाडौं आएपछि सुरू-सुरूमा किरणले फाइट सिकाउने जागिर खाइन्। त्यसैक्रममा एकदिन उनलाई कांग्रेस नेतृ सुजाता कोइरालाका सचिवले यति राम्रो खेल्न सक्नेले किन फिल्म क्षेत्रमा नगएको भने। अनि पो किरणले योगेश श्रेष्ठसँग फिल्ममा जाने जिकिर गरिन्।
‘एकजना दाइसँग भेट भयो, उहाँ सुजाता कोइरालाको पिए हुनुहुन्थ्यो। उहाँले तपाईं जहिले सिकाएर मात्रै बसेको देख्छु, आफैं द्धन्द्ध निर्देशन किन गर्नुहुन्न भन्नुहुन्थ्यो। मलाई त्यतिबेला म फिल्म क्षेत्रमा जान्छु भन्ने नै थिएन। अलि अलि गर्दागर्दै म फिल्मी क्षेत्रमा द्धन्द्ध निर्देशकको रुपमा आएँ,’ उनले सुनाइन्।
फिल्ममा आउँदा पनि किरणले सुरूमै मुख्य द्धन्द्ध निर्देशको काम पाइनन्। त्यसपछि पहिला सहायक द्धन्द्ध निर्देशनमा हात हालिन्। सहायक द्धन्द्ध निर्देशन गरेको पहिलो फिल्म चाहिँ थियो, निश्चल बस्नेतको लुट। त्यसपछि सहायककै रुपमा उनले त्यसपछि छड्के, पुन्टे परेड लगायतका फिल्ममा काम गरिन्।
७ बर्ष सहायक द्धन्द्ध निर्देशकको काम गरेपछि बल्ल उनलाई मुख्य द्धन्द्ध निर्देशक भएर काम गर्ने अफर आयो, २०७४ मा। मुख्य द्धन्द्ध निर्देशकको रुपमा उनको पहिलो फिल्म थियो 'सारनकोट।' त्यसपछि भने उनले पछाडि फर्केर हेर्नु परेन। आर्थिक अवस्था पनि थप सुधार हुँदै गयो। उनले आफैं मुख्य द्धन्द्ध निर्देशक भएर अहिलेसम्म १० वटा फिल्म गरिसकेकी छिन्।
‘सुरू-सुरूमा निकै गाह्रो भयो’
नेपाली फिल्म क्षेत्रमा द्धन्द्ध निर्देशकमा धेरैजसो पुरूष छन्। जति सहज पुरूषलाई हुन्छ, त्यति सहज किरणलाई सुरुवाती दिनमा भएको थिएन। अझ सुरूमा त घरबाट पनि असहयोग रह्यो। क्षमता नै भएपनि उनी महिला भएकै कारणले कैयन् फिल्म सुटिङ गर्न बाहिरी जिल्लाहरू जान पाइनन्। त्यतिमात्रै होइन, पुरूषकै वर्चस्व रहेको नेपाली फिल्मको द्धन्द्ध निर्देशनमा कतिपटक 'केटीले कसरी यस्तो काम गर्न सक्छे' भन्ने गरेको उनी सम्झिन्छिन्।
‘मलाई खेलको कारणले फिल्मी द्धन्द्ध क्षेत्रमा आउन सहज भयो। तर, केटी मान्छे भएकोले कैयन् पटक बाहिर नलग्ने भन्ने भएकोले दुख लाग्थ्यो’ उनी भन्छिन्, ‘नपत्याउने कारण चाहिँ एक त केटी मान्छे, दोस्रो द्धन्द्ध भएकोले कसरी गर्छ यसले भन्ने हुने रहेछ।’
तरपनि आफ्नो क्षमता र दक्षता भएका नयाँ पुस्ताका केटीहरूले पनि फिल्मी क्षेत्रमा कठिन मानिने द्धन्द्ध निर्देशन गर्न सकिने मान्यता राख्छिन् उनी। फिल्म क्षेत्रमा प्रवेश गर्ने महिलाहरूको लागि उनी यहाँ आउनुपूर्व सिकेर आउँदा राम्रो भन्ने सल्लाह दिन्छिन्।
‘पहिलाको जस्तो समाज पनि छैन अहिले, छोरीले पनि गर्न सक्छ है भन्ने मान्यता राख्छन् धेरैले, त्यसैले आफ्नो क्षमता भए सकिने रहेछ। तर, त्यसको लागि भने अगाडि नै आफ्नो बेस बनाउनु पर्छ, त्यो भनेको कराँते नै हो,’ उनी भन्छिन्।
नेपाली फिल्म क्षेत्रमा लामो समय काम गरेकी किरणलाई उक्त पेशा छोडेर अन्यत्र लाग्ने विचार भने आउँदैन। तरपनि उनी परिस्थिति आएको खण्डमा भने जुनसुकै काम गर्न लाज नलाग्ने बताउँछिन्।
‘मलाई काम यो वा त्यो भन्ने नै लाग्दैन। अहिले पो काठमाडौंमा बालेन्द्र शाहले बाटोमा तरकारी लगायतका सामान बेच्न दिदैनन्। तर, परिस्थिति आए म त्यो काम पनि लाज नमानी गर्न सक्छु,’ उनले भनिन्।
मंसिर १०, २०८१ सोमबार २०:३५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।