एनपिएलको ट्रफीमा संरक्षित क्षेत्रको ढुंगा राख्दा विवाद, क्यानले लियो त अनुमति ?
काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गर्यो। ट्रफी सार्वजनिक गर्दा त्यसको टुप्पोमा आकार-प्रकार नमिलेको ढुंगा थियो। सबैको ध्यान ढुङ्गामा गएपछि क्यानका सचिव पारस खड्काले रहस्य खोल्दै त्यो सगरमाथा क्षेत्रस्थित कालापत्थरबाट ल्याइएको ढुंगा रहेको खुलाए।
खड्काकै अनुसार त्यो ढुंगा क्यान आफैँले ल्याएको हैन। दुई पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएर क्यानलाई दिएका थिए। ट्रफीमा कालापत्थर क्षेत्रबाट ल्याएको ढुंगा राख्नुको कारण खुलाउँदै खड्काले भने ‘नेपालको प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्धनको सन्देश प्रवाहका लागि कालापत्थरको ढुंगा राखिएको हो।’
नेपालको कानुन अनुसार, संरक्षित क्षेत्रको प्राकृतिक स्रोत सङ्कलन गर्नु कानुन विपरीत हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ का अनुसार संरक्षित क्षेत्रभित्रको ढुंगा, गिटी, बालुवा, माटो, वा कुनै पनि खनिज पदार्थ सङ्कलन, ओसारपसार, वा प्रयोग गर्न पाइँदैन।
कालापत्थर सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्र हो। सो कानुन अनुसार त्यहाँको ढुंगा सङ्कलन गर्न सम्बन्धित निकायबाट विशेष स्वीकृति लिनुपर्छ। के क्यानले स्वीकृति लिएर सो ढुंगाको प्रयोग गरेको हो?
क्यानका प्रवक्ता छुम्बी लामाले सम्बन्धित निकायबाटै अनुमति लिएर सो ढुंगाको प्रयोग गरिएको दाबी गरे। निकुञ्जका प्रवक्ता वेदकुमार ढकालले क्यानले ढुंगा सङ्कलनका लागि बन मन्त्रालयबाटै स्वीकृतिको पत्र ल्याएको बताए।
मंसिर १०, २०८१ सोमबार १८:५८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।