विश्वमा प्रत्येक १० मिनेटमा एक महिलाको साथी वा आफन्तबाट हत्या हुन्छ : राष्ट्रसंघ

विश्वमा प्रत्येक १० मिनेटमा एक महिलाको साथी वा आफन्तबाट हत्या हुन्छ : राष्ट्रसंघ

एजेन्सी : सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरूद्वारा सार्वजनिक गरिएको छ। 

लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडीसी) र संयुक्त राष्ट्रसंघीय महिला एजेन्सीले सोमबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो।

करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको मृत्यु आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ। यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एक जना महिलाको हत्या हुनु बराबर हो।

रिपोर्टमा भनिएको छ, 'यो महिला र किशोरीका लागि घातक उत्पीडनको जोखिमको हिसाबले सबैभन्दा खतरनाक स्थान घर हो।'

महिलाहरूको तुलनामा पुरूषहरू हत्याको सिकार हुने सम्भावना चार गुणा बढी भए तापनि गत वर्ष भएका सबै हत्यापीडितमध्ये ८० प्रतिशत पुरूषहरू अपरिचित व्यक्तिको हातबाट मरेका थिए।

अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो। सबैभन्दा कम महिला हत्या दर युरोप र एशियामा रहेको रिपोर्टमा उल्लेख छ। 

केही देशहरूमा नारी हत्या रोक्न प्रयास गरिए तापनि लैङ्गिक असमानता र हानिकारक रूढीवादका कारण त्यहाँ नारी हत्याको सङ्ख्या भयानक छ।

यूएनओडीसीका कार्यकारी निर्देशक घाडा वालेले भने, 'हामीले महिलाविरूद्ध हिंसालाई कायम राख्ने लैङ्गिक भेदभाव, शक्ति असन्तुलनजस्ता विभेदजन्य मान्यताविरूद्ध लड्नुपर्छ र अन्त्य गर्नुपर्छ।'

‘युएन वुमन’की कार्यकारी निर्देशक सिमा बहौसले महिलाविरूद्ध हुने हिंसा रोक्न सशक्त कानून, बृहत्तर सरकारी जवाफदेहीता र महिला अधिकारवादी संस्था तथा संस्थागत निकायका लागि बढ्दो आर्थिक सहयोग आवश्यक रहेको बताइन्। 

उनले भनिन्, 'यसबाहेक, मिडिया रिपोर्टहरू सहित विभिन्न राष्ट्रिय स्रोतहरूबाट सुधारिएको तथ्याङ्क सङ्कलन र शून्य सहनशीलता संस्कृति महिला हत्याको सामना गर्न आवश्यक छ।' 

यो प्रतिवेदन १०७ देश वा क्षेत्रबाट उपलब्ध तथ्याङ्क र यूएनओडीसीले सदस्य राष्ट्रहरूले प्रस्तुत गरेका प्रतिक्रियाहरूबाट सङ्कलन गरिएको जानकारीमा आधारित रहेको छ।  

मंसिर १०, २०८१ सोमबार १८:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।