बिआरआईमा ऋण लिनै हुँदैन भनेपछि कांग्रेससँग रिसाए झलनाथ खनाल

बिआरआईमा ऋण लिनै हुँदैन भनेपछि कांग्रेससँग रिसाए झलनाथ खनाल

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ दल नेपाली कांग्रेसको अडान ठीक नभएको बताएका छन्।

सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भूराजनीतिको नाममा बिआरआई परियोजनाअन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रभावित हुन नहुने बताए।

‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं। ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन’, उनले भने। 

खनालले चीनसँग अहिले ऋण सम्झौता नगरेपनि चीनसँग कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हो भने आपत्तिजनक हुने बताए। 

उनले भने, ‘बिआरआई १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो। अहिले विश्वका १५३ मुलुकहरूसँग सहमति भएको छ। ३ हजार करिब सम्झौताहरू बनिसकेका छन्। यो बिआरआई र ती मुलुकहरूको बीचमा लगानी मात्रै हेर्दा १.४ ट्रिलियन डलर लगानी भएको देखिन्छ। दुईतिहाई भन्दा बढि मुलुकका लागि बिआरआई आवश्यक रहेछ।'

बिआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्ने कुरा नेपाल आफैले फैसला गर्ने भएकाले त्यसमा अरू देशको दबाबको कुनै अर्थ नहुने पनि सम्मानित नेता खनालले दोहोर्याए। 

कांग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकारमा अहिले बिआरआईको विषय पेचिलो बन्दै गइरहेको छ। प्रधानमन्त्री ओली तथा एमाले बिआरआई स्विकार्ने पक्षमा देखिएको छ भने कांग्रेसले यसलाई अनुदानको रूपमा भए लिने नभए ऋणको रूपमा स्विकार्न नसक्ने बटमलाइन लिएको छ।   

मंसिर १०, २०८१ सोमबार १७:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।