अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी
काठमाडौँ : अवैध मानव ओसारपसारको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका कोशी प्रदेशका पूर्व मन्त्री एवं एमालेका सांसद लिलाबल्लभ अधिकारीले मुद्दाबाट उन्मुक्ति पाएका छन्। प्रहरीले पक्राउ गरेर उनको संलग्नताबारे अनुसन्धान गरे पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा लैजाँदा उनलाई प्रतिवादी बनाएन।
सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर हुँदा अभियोग पत्रमा उनको नाम छैन। जिल्ला सरकारी वकिलको कार्यालयले उनी अवैध रूपमा मानव ओसारपसारमा संलग्न समूहले अवैध रूपमा जापान लैजान सक्रिय समूहको प्रभावमा परेर जापानसम्म पुगे पनि अवैध ओसारपसारमा भने संलग्न नदेखिएको निष्कर्ष निकाल्दै उनलाई प्रतिवादी नबनाएको हो।
पैसा बुझाएर जापान हिँडेका तीन जनासँग अधिकारीले रकम नलिएको, काठमाडौँमा भेट गरेर सँगै नगएको, अवैध रुपमा जापान लगेकोबारे प्रहरी अधिकारीहरूलाई जानकारी दिएको, परिचय पत्र बनाउन संलग्न नदेखिएको र उनको हस्ताक्षर किर्ते देखिएको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो।
सोमबार दर्ता भएको अभियोग पत्रमा अवैध रूपमा जान राजी भएका तीन जनासहित ११ जनालाई भने प्रतिवादी बनाइएको छ। सो घटनामा संलग्न तीन जना भने अझै फरार छन्।
कोशीको कानुन मन्त्री रहेको बेलामा अधिकारी प्रदेश सरकारको मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृति नै नगराइ काठमाडौँ जान्छु भनेर जापान हिँडेका थिए। तर जापानको अध्यागमनले शङ्का लागेर उनीसहित चार जनालाई नेपाल डिपोर्ट गरेको थियो।
उनीसँगै डिपोर्ट भएका तीन जना प्रहरी हिरासतमा पुगेपछि अधिकारी विवादमा तानिए। उनले मन्त्री पदबाट राजीनामा दिएपछि प्रहरीले अदालतको अनुमति लिएर अनुसन्धानका लागि विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।
मंसिर १०, २०८१ सोमबार १६:४४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।