कार्यालयमै पत्र थमाउन जाँदा लिन नमानेपछि महानगरले हुलाक र इमेलमार्फत् एमालेलाई पठायो जरिवाना पत्र

कार्यालयमै पत्र थमाउन जाँदा लिन नमानेपछि महानगरले हुलाक र इमेलमार्फत् एमालेलाई पठायो जरिवाना पत्र

काठमाडौं : काठमाडौं महानगरपालिकाले जरिवानाको पत्र लिएर जाँदा बुझ्न नमानेपछि सत्तारुढ दल एमालेलाई त्यो पत्र इमेल र हुलाकमार्फत  पठाइएको छ।

आइतबार एमालेले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेको थियो। जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन।

एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो। त्यो जरिवानाको पत्र पुर्याउन च्यासल जाँदा कार्यक्रमको आयोजक पार्टी केन्द्र नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार भएको थियो।

एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा आयोजना गरेको थियो।

त्यसपछि आज महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए। 

महानगरको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सार्वजनिक स्थलमा कार्यक्रम गर्दा फोहोर तथा वातावरण प्रदूषण गराएको भन्दै एक लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख छ। पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछाले हस्ताक्षर गरेका छन्। 

मंसिर १०, २०८१ सोमबार १६:११:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।