बीआरआई स्वीकार गर्नुपर्ने पक्षमा माधव नेपाल, प्रधानमन्त्री ओलीलाई भने 'बीआरआई नेपालको हितमा छ'

बीआरआई स्वीकार गर्नुपर्ने पक्षमा माधव नेपाल, प्रधानमन्त्री ओलीलाई भने 'बीआरआई नेपालको हितमा छ'

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अघि बढाउन सुझाव दिएका छन्।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासामा उनले बीआरआई नेपालको हितमा रहेको भन्दै उनले यसबाट लाभ लिनुपर्ने बताए। 

त्यस परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाई छ। 

‘लाभ लिने कुराको सन्दर्भमा हामीले सबैसँग सम्बन्ध राख्ने गर्दछौं, लाभ लिने गरेका छौं। बीआरआईसँग त उहिले नै आबद्ध भइसक्या छौं,’ उनले भने। 

नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले बीआरआईसँग आफूहरू नडराएको पनि दाबी गरे। 

उनले भने, ‘बीआरआई स्वाभाविक रूपमा नेपालको स्वीकार गर्दै आएको हो। स्वीकार नगर्ने त प्रश्नै छैन नि। किन? बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन। दक्षिणका देशहरू साउथ साउथ कोअपरेशन भित्र यो पर्दछ। बीआरआईसँग हामी डराएका छैनौं।’

मंसिर १०, २०८१ सोमबार १५:५०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।