पेप्सीको नेपाल विक्रेताले कर छली गर्दा ३४ करोड बिगो र जरिवाना, वित्त प्रमुखलाई एक वर्ष कैद
काठमाडौँ : उच्च अदालत पाटनले पेप्सीको नेपालस्थित बिक्रेता वरुण वेभरेज नेपाल प्रालिलाई राजश्व छलीमा दोषी ठहर गर्दै २७ करोड १३ लाख बिगो तिराउने र सात करोड जरिवाना गराउने फैसलाको पूर्ण पाठमा उल्लेख छ।
अदालतले २०८० पुस १९ मै फैसला सुनाए पनि फैसलाको पूर्ण पाठ भने सार्वजनिक भएको थिएन। हालै सार्वजनिक भएको फैसलाको पूर्ण पाठमा कम्पनीलाई बिगो रकमसहित जरिवाना र सञ्चालकलाई कैदसहित जरिवाना उल्लेख छ।
अमेरिकी कम्पनी पेप्सीकोको उत्पादन पेप्सी नेपालमा वरुण वेभरेजले बिक्री वितरण गर्दै आएको थियो। नक्कली बिल बिजक बनाएर कर छली गरेको ठहर गर्दै न्यायाधीश धीरबहादुर चन्द र जनक पाण्डेको इजलासले प्रालिमाथि २७ करोड १३ लाख ४१ हजार बिगो तिर्नुपर्ने फैसलामा उल्लेख छ।
फैसलामा उल्लेख भए अनुसार झुटो बिल विजक प्रयोग गरेर राजस्व छल्नमा प्रालिका तत्कालीन वित्त प्रमुख अमित गुप्ता मुख्य दोषी ठहर गरेको छ। फैसलामा उनलाई एक वर्ष कैद र एक करोड जरिवाना तोकिएको छ। फैसलामा प्रालि बाहेक थप सात करोड जरिवाना समेत तोकिएको छ।
प्रालिविरुद्ध २०७५ फागुन १९ मा जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर भएको थियो। नक्कली कारोबारमार्फत राजस्व छलेको दाबीसहित वरुण वेभरेजविरुद्ध दुई अर्ब रुपैयाँ जरिवाना र प्रालि र यसका सात सञ्चालकविरुद्ध मुद्दा दायर भएको थियो।
फैसला अनुसार प्रालिले करयोग्य ७१ करोड ४० लाख कारोबारमा नक्कली बिलबिजक प्रयोग गरेर छली गरेको उल्लेख छ।
मंसिर १०, २०८१ सोमबार १५:३९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।