सन्दीपको प्रशंसामा प्रधानमन्त्री ओलीले दोहोर्याए पुरानो अभिव्यक्ति 'नेपालीले चान्स पायो भने गर्छ'

सन्दीपको प्रशंसामा प्रधानमन्त्री ओलीले दोहोर्याए पुरानो अभिव्यक्ति 'नेपालीले चान्स पायो भने गर्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुन्धारास्थित धरहरा परिसरमा नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरे। 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गरे। उनले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको बताए। 

प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपिएलका आठ टोलीकै मार्की खेलाडीको खुलेर प्रशंसासमेत गरे। 

मार्की खेलाडीको प्रशंसा गर्नेक्रममा उनले विराटनगर किङग्स्का मार्की खेलाडी सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्रान्ड एम्बेस्डर जस्तै भएको बताए। उनले बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको सुनाए। 

'विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बेस्डर जस्तै हुनुभयो। बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ, उनले भने, 'त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ।'

प्रधानमन्त्री ओली दोस्रोपटक प्रधानमन्त्री हुँदाताका पनि सन्दीप लामिछानेबारे 'नेपालीले चान्स पायो कि गर्छ, डल्ला फालेर सन्दीप चम्कियो' भन्ने अभिव्यक्ति दिएका थिए।  

मंसिर १०, २०८१ सोमबार १५:३८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।