‘चिनियाँ कार्ड’को अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीको अगाडि ढाँटे प्रचण्डले

‘चिनियाँ कार्ड’को अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीको अगाडि ढाँटे प्रचण्डले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर आसन्न चीन भ्रमणमा नेपालले उठान गर्नुपर्ने मुद्दाबारे सुझाव मागे। छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबाहेक अन्य सबै पूर्वप्रधानमन्त्रीहरू सहभागी थिए। 

छलफलमा नेपालका प्रधानमन्त्रीले कुन देशबाट भ्रमण सुरू गर्ने भन्ने कुरा उठ्यो। नेपालको प्रधानमन्त्रीले कुनै एउटा देश विशेषबाट भ्रमण सुरू गर्नुपर्छ भनेर भएको चर्चा सदाका लागि बन्द गर्नुपर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुझाव दिए। यसमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत अन्यले पनि सहमति जनाए। 

छलफलकै क्रममा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले 'चिनियाँ कार्ड'बारे दिएको अभिव्यक्तिबारे कुरा उठाए। प्रचण्डतिर संकेत गर्दै प्रधानमन्त्री ओलीले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’का रूपमा कसैले लिन नहुने बताए। 

त्यसको जवाफमा प्रचण्डले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको उल्लेख गर्दै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको भनेर कुरा फेरे। 

नेपालका प्रधानमन्त्रीको पहिलो वैदेशिक भ्रमण भारत हुनुपर्ने आसयको प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर बैठकमा आफ्नो आलोचना भएपछि प्रचण्डले भने, 'तपाईंहरू सबैले बुझ्नु भएकै छ, परम्परादेखि चल्दै आएको पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको हुँ।'

त्यसअघि प्रचण्डले प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाउँदै भारतीय पत्रिका ‘द हिन्दु’मा अन्तर्वार्ता दिएका थिए। 

द हिन्दूका लागि सुहासिनी हैदरसँग अन्तर्वार्तामा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल-भारत सम्बन्ध तनावमा रहेको र सीमा विवाद पुनः जागृत हुने खतरा रहेको बताएका थिए।  

मंसिर १०, २०८१ सोमबार १५:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।