एनपिएलको ट्रफीमा कालापत्थरको आकारै नमिलेको ढुङ्गा राख्नुको अर्थ के?
काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीमा सार्वजनिक गर्दा त्यसको टुप्पोमा रहेको ढुङ्गा चर्चामा आयो। धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर क्यानले ट्रफी सार्वजनिक गरेको थियो।
ट्रफीको टुप्पामा आकार प्रकार नमिलेको ढुङ्गालाई प्रमुखता दिएर राखिएपछि क्रिकेट प्रेमीमाझ चासो बढ्नु स्वाभाविकै हो। क्यानका सचिव पारस खड्काका अनुसार ट्रफीमा राखिएको सो ढुङ्गा सगरमाथाको आधार क्षेत्रमा रहेको कालापत्थरको हो। पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले सो ढुङ्गा ल्याएर क्यानलाई दिएका थिए।
सचिव पारस खड्काका अनुसार नेपालको प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्धनको सन्देश प्रवाहका लागि ट्रफीमा आकार प्रकार नमिलेको सो ढुङ्गा राखिएको हो।
सोमबार ट्रली सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै, खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्दसँगै एनपिएलमा सहभागी आठ वटै टिमका मार्की खेलाडी सहभागी थिए।
प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ। प्रतियोगितामा पोखरा एभेन्जर्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्स सहभागी छन्।
मंसिर १०, २०८१ सोमबार १४:१४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।