देउवाको स्पष्ट बटमलाइन : बिआरआईमा ऋण हैन, अनुदान लिनुपर्छ
धनुषा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताएका छन्।
जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताए।
‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौं,’ देउवाले भने।
सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने दाबी गरे।
कांग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकारमा अहिले बिआरआईको विषय पेचिलो बन्दै गइरहेको छ। प्रधानमन्त्री ओली तथा एमाले बिआरआई स्विकार्ने पक्षमा देखिएको छ भने कांग्रेसले यसलाई अनुदानको रूपमा भए लिने नभए ऋणको रूपमा स्विकार्न नसक्ने बटमलाइन लिएको छ।
सञ्चारकर्मीको प्रश्नमा सभापति देउवाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताए।
मंसिर १०, २०८१ सोमबार १४:१०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।