एनपीएलको ट्रफीमा कालापत्थरको पत्थर किन ?

एनपीएलको ट्रफीमा कालापत्थरको पत्थर किन ?

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गर्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले आठ टिमका मार्की खेलाडीसँगै ट्रफी अनावरण गरियो।

क्यानले सार्वजनिक गरेको ट्रफीको सबैभन्दा माथि एउटा पत्थर देखिन्छ। क्यानका अनुसार, ट्रफीमा राखिएको पत्थर सगरमाथा क्षेत्रस्थित कालापत्थरको हो।

क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा पत्थर राखिएको प्रस्ट पारे। उनले यो ट्रफीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको पत्थर यस ट्रफीको मुख्य आर्कषणको रूपमा रहेको छ। एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्याउने आशा राखेका छौँ,’ उनले भने, ‘यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ।’

निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त पत्थर ल्याएका हुन्। सचिव खड्काले उक्त पत्थर ल्याउन सहयोग गरेकामा यी दुई पर्वतारोहीप्रति धन्यवाद व्यक्त गरे।

मंसिर १०, २०८१ सोमबार १२:१७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।