राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ।
प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस)को अध्यापन शुरू गर्ने भएपछि सेवा विस्तार गर्न लागेको हो।
प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि चिकित्सक पठाउन लागेको हो। त्यहाँका नागरिकलाई सहज विशेषज्ञ सेवा प्रदान गर्नका लागि यस्तो कार्य गरिएको रजिष्ट्रार श्याम लम्सालले जानकारी दिए।
स्वास्थ्य केन्द्रमा २४सैं घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ। एमबीबीएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी केन्द्रलाई ‘कम्युनिटी आउट रिच सेन्टर’को रूपमा रहने गरी व्यवस्थापन गर्ने भएको हो।
यसका लागि प्रतिष्ठान र रुन्टीगढ गाउँपालिकाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ। प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनबीच आगामी पुस १ गतेदेखि सेवा शुरू गर्ने सम्झौता भएको हो।
साथै होलेरीमा नै प्रतिष्ठानबाट पास गर्ने एमडिपिजिपी चिकित्सक पठाएर विशेषज्ञ सेवा शुरू गर्ने उनको भनाइ छ। हाल प्रतिष्ठानमा एमडिजिपीमा दुई चिकित्सकले स्नाकोत्तर अध्ययनरत छन्।
गत असारदेखि होलेरी अस्पतालमा चिकित्सकको नहुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने बाध्यता छ।
मंसिर १०, २०८१ सोमबार १२:०६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।