अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्यासको घोषणा
एजेन्सी : अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनले सन्यासको घोषणा गरेकी छन्। उनले सोमबार इन्स्टाग्राममा एक पोस्ट राख्दै सन्यासको घोषणा गरेकी हुन्।
उनले उक्त पोस्टमा ‘पेरिस ओलम्पिक खेल्दै गर्दा मलाई यो मेरो अन्तिम ओलम्पिक हुनेछ भन्ने थाहा थियो’ लेखेकी छन्।
एम्मा म्याकेनले तीन ओलम्पिक खेलहरूमा १४ पदक जितिसकेकी छन्। तीमध्ये ६ स्वर्ण पदक हुन्।
उनले भनिन्, ‘मेरो स्विमिङ करियरमा शारीरिक र मानसिक रूपमा सबैथोक दिएकोमा म गर्व गर्छु। अहिले पनि म के सक्षम छु भनेर हेर्न चाहन्थेँ र मैले गरेँ।’
‘अब म जीवनमा अन्य तरिकामा थप कुराहरू प्राप्त गर्न कसरी अगाडि बढ्न सक्छु भनेर आफैँलाई हेर्न उत्साहित छु’, उनले भनिन्।
एम्मा म्याकेनले पेरिस ओलम्पिक मा तीन पदक जितेकी थिइन्।
मंसिर १०, २०८१ सोमबार ०७:५९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।