फिल्म समीक्षा : पूजा र ऋचाको दमदार कमब्याक, सन्तानलाई विदेश पठाउनु अगाडि हेर्नुपर्ने फिल्म

फिल्म समीक्षा : पूजा र ऋचाको दमदार कमब्याक, सन्तानलाई विदेश पठाउनु अगाडि हेर्नुपर्ने फिल्म

निर्देशक शङ्कर घिमिरेले लामो समयको विश्रामपछि बिदेसिएका नेपालीको कथा-व्यथा बोकेको फिल्म बनाए तेल भिसा। तर अमेरिका लैजाने भनेर करोड बढी ठगी गरेको प्रहरीमा उजुरी परेपछि उनी नै कथाको एक पात्र समान देखिए। फिल्म प्रमोसनको बेलामा मोबाइल अफ गरेर बस्न बाध्य भए उनी।

धन्न फिल्म भने रिलिज भयो शुक्रवार। हलमा पूर्ण बहादुरको सारङ्गीको चापाचाप अनि ‘ह्रस्व दीर्घ’ का कारण निकै कम शो सङ्ख्या पाएको फिल्मको अकुपेन्सी पनि गतिलो हुन सकेको छैन।

फिल्म जुन सङ्ख्यामा शोज्हरु पाइरहेको छ अनि पाएको शोमा दर्शकको जुन पातलो चाप छ त्यसको तुलनामा फिल्म भने बलियै बनेको छ।

सङ्गीत अनि अभिनेता विपिन कार्कीको बाबुको चरित्र बाहेक फिल्मको अन्य पाटोहरू हेर्न लायक छन्। अमेरिका पलायन भएसँगै अभिनयकर्मबाट टाढिएकी पूजा चन्द हुन् या ऋचा घिमिरे दुवैले यो बिचमा अभिनय गर्न नपाएको भोक सबै पोखेका छन् फिल्ममा। विदेशमा त पैसा बोटमा फल्छ भनेर दौडादौड गरिरहेकाहरूलाई फिल्म हेराउन सक्ने हो भने विदेश जाने विषयमा एक पटक सोच्न बाध्य गराउँछ फिल्मले।

कथा वाचन, पटकथा अनि छायाङ्कनमा गुनासो गर्नु नपर्ने हदमा काम गरेको देखियो निर्माण टिमले। विपिन कार्कीको अभिनयमा समस्या छैन। तर दोहोरो भूमिकामा रहेका उनको बाबुको क्यारेक्टरलाई दर्शकले सहजै स्वीकार गर्न सकेको देखिएन।

ब्याकग्राउन्ड म्युजिक अनि विपिनको दोहोरो भूमिकामा पुनर्विचार गरेको भए फिल्म थप बलियो बन्ने पक्का थियो।

अमेरिकामा रहेका छोरा गौरव अधिकारी (विपिन कार्की) र बुहारी वन्दना अधिकारी (वर्षा राउत) अभिभावक बन्ने भएपछि सघाउन चितवनमा रहेका आमा-बुबालाई अमेरिकामा बोलाउँछन्।

आर्मीका अवकाश जम्दार सूर्य बहादुर अधिकारी ( बुबा बनेका विपिन कार्की) र आमा राधा अधिकारी (पूजा चन्द)लाई अमेरिका बोलाए आमा मात्र जान पाउँछिन्।

ट्याक्सी चलाउनेदेखि घण्टाको दरमा काम गरिरहेका गौरवलाई खर्च धान्नै मुस्किल भइरहेको बेलामा भएको केही पैसा पनि क्रिप्टोमा डुबाउँछन्। अनि नेपालमा रहेका बाबुलाई जग्गा बेचेर पैसा पठाउन दबाब बढाउँछन्।

सूर्य बहादुरलाई विदेश जान खासै मन हुँदैन। घरमा छन् सहयोगी माइला (बुद्धि तामाङ)। छोराले अमेरिका बोलाएकोमा खुसी हुँदै अमेरिका पुगेकी राधा त्यहाँको कानुनबारे जानकार हुने कुरै भएन। नेपालमा सामान्य मानिने एक घटनाका कारण उनको प्रहरी हिरासत यात्रा सुरु हुन्छ।

उनलाई हिरासतमुक्त गराउन सम्भव हुन्छ या हुन्न? यता नेपालमै रहेका जम्दार सूर्य बहादुर अमेरिका जान्छन् या जाँदैनन् फिल्म यही कथा वरिपरि घुमेको छ।

यो फिल्मको कथा अनि पटकथा सबैभन्दा बलियो पक्ष हो। दर्शकलाई अल्झाउने र झर्को लाग्ने समस्या फिल्ममा छैन। राम्रैसँग बगेको छ फिल्म।

दोहोरो भूमिका निर्वाह गरेका विपिन अभिनयको दृष्टिमा दुवै पात्रमा फिट छन्। तर उनी बुढ्यौली चरित्र भन्दा युवक चरित्रमा माझिएका छन्।

छुच्ची बुहारी वन्दनाको पात्रमा रहेकी वर्षाले गुनासो गर्ने ठाउँ दिएकी छैनन् फिल्ममा। उनको दिदी अनि अमेरिकी वकिल बनेकी ऋचाको क्यारेक्टर निकै बलियो छ। उनी आफ्नो क्यारेक्टरमा मजाले घुसेकी त छिन् नै अभिनयमा पनि कुनै गुनासो गर्ने ठाउँ छाडेकी छैनन्।

२० वर्षपछि अभिनयमा फर्किएकी पूजा चन्दको अभिनय तारिफयोग्य छ। उनले दर्शकको मन चस्सै हुने हदको अभिनय गरेकी छिन्। उनको अभिनयका दृश्यमा हलमा ताली नै बज्छ। बुद्धि तामाङको अभिनय ठिकठिकै छ।

विपिनको दोहोरो भूमिकामा बाबुको चरित्र सबैभन्दा कमजोर पक्ष देखियो फिल्ममा। संवाद नै कतै रटेर बोलेको हो कि भन्ने झैँ देखिन्छ फिल्ममा।

अमेरिकाका केही दृश्य बिझाउँछन्। बाहिर पार्कमा खिचिएका दृश्य अर्थ नभई पटक-पटक दोहोरिन्छन्। अमेरिकाबारे केही थाहा नभएको पात्र बुहारीले गाली गर्दा बिरक्तिँदै हिँडे पनि अचानक कसरी घर आइन्? चरित्र अनुसार दृश्य सुहाएन।

फिल्मको सङ्गीत पक्षले फिल्मलाई बलियो बनाउन साथ दिएको देखिएन।

४ बढी गीतमध्ये ‘टुकुनको मुकुन मन पर्यो’ र ‘कति रमाइलो’ ठिकठिकै बनेको छ। फिल्मको सुरुवातदेखि नै उस्तै उस्तै ब्याकग्राउन्ड म्युजिक राख्दा फिल्मको दृश्यमा दर्शकलाई तान्न सकेको छैन।

सुखैसुखको आसमा बिदेसिएकाहरूको अवस्था कस्तो छ भन्ने देखाउन निर्देशक धेरै हदसम्म सफल भएका छन्। सन्तान हुने भएपछि स्याहार गर्ने व्यक्ति राख्न नसकेपछि आमा-बाबुलाई बोलाउने घटना सत्य हुन्। पारिवारिक वा भिजिट भिसा लागे पनि त्यसको नेपाली नामकरण तेल भिसा भइसकेको छ। यो हेर्दा फिल्मको नाम कथा अनुसार फिट छ।

आमा अनि श्रीमतीको बिचमा चेपिएका पुरुषको मनोदशा देखाउन निर्देशक सफल भएका छन्। अन्य दर्शकले फिल्म हेर्दा ह्याँ भन्दै बिचैमा हलबाट बाहिरिनु पर्दैन। विदेश जान चाहने सन्तान अनि विदेश पठाउन चाहने अभिभावक दुवैले फिल्म हेरे मनस्थिति बदलिन सक्छ।

मंसिर ९, २०८१ आइतबार २१:५५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।