शिखर धवन ल्याएको कर्णाली याक्सले भित्र्यायो ओमानका अनुभवी खेलाडी मक्सूद
काठमाडौँ : शिखर धवन ल्याएको नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम कर्णाली याक्सले ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ।
आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो।
बायाँ हाते ब्याटर मक्सूद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौँ खेलाडी हुन्। कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
टोलीमा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात समेत छन्।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिन प्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ।
प्रशिक्षक मल्लले अलराउन्डर मक्सूदको आगमनसँगै टोलीको ब्याटिङ र बलिङ बलियो हुने बताए।
‘मक्सुद अनुभवी ब्याटर र बलर हुन् । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा छ’ उनले भने।
उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्। त्यस्तै, ७३ टी २० खेलमा १३६९ रन बनाएका छन्। त्यस्तै, बलिङतर्फ टी२० आईमा ५१ विकेट लिएका छन्।
मंसिर ९, २०८१ आइतबार २१:०२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।