सहकारी ठगीमा रविको संलग्नताबारे नयाँ प्रमाण ‘ हस्ताक्षर गरेको चेक’ भेटिएको दाबी, हिरासत अवधि १५ दिन थपियो

सहकारी ठगीमा रविको संलग्नताबारे नयाँ प्रमाण ‘ हस्ताक्षर गरेको चेक’ भेटिएको दाबी, हिरासत अवधि १५ दिन थपियो

पोखरा : सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

अदालतले अनुसन्धानका लागि  हिरासतमा राख्न दिएको म्याद सकिएपछि आइतबार उनलाई अदालतमा पेस गरिएको थियो। न्यायाधीश  भीमलाल बेलबासेले इजलासले उनलाई अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

यस अगाडि अदालतले कात्तिक २५ मा प्रहरीलाई १३ दिनको म्याद दिएको थियो। सो म्याद आइतबार सकिएपछि प्रहरीले अनुसन्धान बाँकी नै रहेको भन्दै थप म्याद मागेको थियो।

स्रोतका अनुसार सरकारी पक्षले अदालतमा रवि लामिछानेको हस्ताक्षरसहितको चेक सहकारीलाई बुझाएको लगायतका महत्पूर्ण प्रमाणहरू फेला परेको र सहकारीको रकम अपचलनबारे थप प्रमाण सङ्कलनको चरणमै रहेको जिकिर गर्दै उनलाई थप हिरासतमा राख्ने अनुमति मागेको थियो।

कास्की प्रहरी स्रोतका अनुसार सुर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीको अनुसन्धान गर्नेक्रममा ती दुबै सहकारीलाई लामिछानेको हस्ताक्षर रहेको चेक बुझाएको र त्यसको प्रतिलिपी फेला परेको उकेरालाई बतायो। 

'चेकको प्रतिलिपी देखाएपछि उहाँ गल्नु भयो। अहिले चेक आफूले नकाटेको दाबी गरिरहनुभएको छ। तर हस्ताक्षरको परिक्षणमा उहाँकै रहेको खुलेकाले यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण बनेको छ ,' स्रोतले उकेरासँग भन्यो।

जिल्ला न्यायाधीवक्ताको कार्यालयको तर्फबाट गरेको जिकिर मान्दै इजलासले पनि थप १५ दिन हिरासतमा राख्न अनुमति दियो।

रवि पोखराको सुर्यदर्शन सहकारीमा रहेको बचतकर्ताहरूको रकम दुरुपयोग गरेको आरोपमा कात्तिक दुई गते काठमाडौँमा पक्राउ परेका थिए।

उनी पक्राउ परेर हिरासतमा रहेको एक महिना ६ दिन पुगिसकेको छ। उनीमाथि सुर्यदर्शनसहित बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे समेत अनुसन्धान भइरहेको छ।

बुटवल लगेर सुप्रिम सहकारीको रकम दुरुपयोगबारे उनको बयान भइसकेको छ। बुटवलको बयान सकिएपछि पुन पोखरा फर्काइएका उनी विरुद्ध चितवन र काठमाडौँमा समेत पक्राउ पुर्जी जारी भइसकेको छ।

मंसिर ९, २०८१ आइतबार १६:३०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।