महानगरको जरिवाना नतिर्ने मुडमा एमाले, बालेनलाई सोध्यो 'हामीले के गरेका छौं र जरिवाना तिर्ने?'

महानगरको जरिवाना नतिर्ने मुडमा एमाले, बालेनलाई सोध्यो 'हामीले के गरेका छौं र जरिवाना तिर्ने?'

काठमाडौं : शुक्रबार सत्तारुढ दल एमालेले काठमाडौंको दरबारमार्गमा जागरण अभियान गर्दैगर्दा फोहर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोक्यो। महानगरकी उप-मेयर सुनिता डंगोलसमेत सहभागी एमालेको सभाका सहभागीहरूले सडक तथा पेटीहरूमा फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गरेको पत्र सार्वजनिक भयो। 

महानगरले एमालेलाई पठाएको भनिएको पत्रमा अहिलेसम्म एमालेको तर्फबाट आधिकारिक जवाफ आएको छैन। नेताहरूले सामाजिक संजाल तथा मिडियाहरूबाट महानगरको जरिवाना नतिर्ने भन्दै आएका छन्। तर, एमालेले औपचारिक रूपमा मुख खोलेको छैन। 

सामाजिक संजालमा महानगरको पत्र सार्वजनिक हुनासाथ पार्टीका महासचिव शंकर पोखरेलले महानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको बताएका थिए। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको भनेका थिए। 

मेयर बालेनको निर्देशनमा महानगरले एमालेलाई जरिवानाको पत्र काटेको भन्दै अहिले एमालेका नेताहरु रुष्ट छन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि यसलाई बालेनको पूर्वाग्रह नै देखिने तर्क गरे। उनका अनुसार कार्यक्रममा स्वयम्सेवकहरुले आफैं सरसफाइ गरिरहँदा पनि कार्यक्रम नसकिँदै २ बजे नै पत्र लेख्नु त पूर्वाग्रह देखिन्छ।

उता, पूर्वमन्त्रीसमेत भएका एमालेका नेता महेश बस्नेतले त मेयर बालेनले एमालेबाट १ लाख भिख मागेको आरोप लगाए।

महानगरले एमालेलाई जरिवाना गरेको पत्र पठाइसकेको दाबी गरेपनि अहिलेसम्म काठमाडौं महानगरबाट जरिवानाको पत्र एमालेलाई प्राप्त नभएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताएका छन्। उनका अनुसार यदि त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेको अडान छ।

‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन। पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन,’ अधिकारीले भने, ‘हामीले के गरेका छौं र जरिवाना तिर्ने?’ 

सभा सकिएलगत्तै आफैं सफा गरेकाले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको उनले बताए।

‘हामीले कार्यक्रम गर्यौं, आफैं सफा पनि गर्यौं। त्यसैले पत्रको जवाफ दिइरहनु पर्दैन,’ अधिकारीले भने।

त्यसअघि एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पनि ‘औचित्यहीन चिर्कटो’ भन्दै आफूहरूले महानगरले तोकेको जरिवाना नतिर्ने बताएका थिए। 

‘हाम्रो कार्यक्रम सकिएकै छैन। चिर्कटो फेसबुकमा हालेर स्टन्टबाजी गरियो। कार्यक्रम सकिए लगत्तै हाम्रा स्वयंसेवकले कार्यक्रम स्थल सरसफाइ पनि गरिसकेका छन्,। यस्ता वाइह्यात चटकको एमालेले सम्बोधन गर्दैन,’ उनले भनेका थिए।

महानगरको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सार्वजनिक स्थलमा कार्यक्रम गर्दा फोहोर तथा वातावरण प्रदूषण गराएको भन्दै एक लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख छ। पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछाले हस्ताक्षर गरेका छन्।

तर, गौतमले भने नगर प्रहरी प्रयोग गरेर बालेन एमालेविरुद्व लागेको आरोप लगाए। एमाले र मेयर बालेनबीच पछिल्लो समय बेलाबेला विभिन्न विवाद हुँदै आएका छन्।

खासगरी बालेन र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीचको टकराब पछिल्लो समय विभिन्न विषयमा सतहमा देखिँदै आएको छ। ओली-बालेन दुरी लामै समयदेखि चलिआएको छ।     

कसरी सुरू भयो ओली र बालेनबीचको खटपट ?
काठमाडौँ महानगरको मेयर निर्वाचित भएपछि बालेन एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे। त्यसबेला आफूलाई भेट्न आएका बालेनलाई ओलीले तबला उपहार दिएका थिए। त्यसबेला बालेन एमालेमा प्रवेश गर्ने चर्चासमेत चल्यो। 

तर, एक्कासि ओलीले सुकुम्बासी बस्तीमा डोजर लगाउनु गलत भएको भन्दिएपछि बालेन ओलीप्रति रुष्ट भएको देखिन्छ। ओलीले भनेका थिए, ‘तपाईंहरूले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरूलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए उनीहरुलाई पराजित गर्थ्यौ हामी, त्यो के गरेको? शत्रु देशसँगको लडाइँको जस्तो भाषा, शैली, तरिका, त्यहाँ कुन शत्रु बसेका छन्?’ 

त्यसपछि त ओली र बालेनले सार्वजनिक रूपमै एकअर्कालाई खुइल्याउने खालका अभिव्यक्ति दिन थाले। ओली सार्वजनिक कार्यक्रमबाट उखान-टुक्का भर्दै बालेनलाई कटाक्ष गर्न थाले भने त्यसको प्रतिवादमा बालेनले फेसबुकमा स्टाटस लेख्न थाले। यो क्रम लामो समय चल्यो। 

ओलीले 'कर्कलो फाँड्न बन्चरो लागेको' भन्दै बालेनप्रति कटाक्ष गरे। लगत्तै बालेनले गिरीबन्धुको प्रकरणमा ओलीले १० हजार बिघा जमिनको विषय उठान गरे। 

यो विवाद यतिसम्म पुग्यो कि, एमाले सचिव योगेश भट्टराईले बालनले ‘गिरीबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको' भन्दै संसद्बाटै आपत्ति जनाए। भट्टराईले पाएको १७ मिनेट बालेनमाथि आक्रोश पोखेर खर्चिए। ओली, प्रचण्ड, शेरबहादुर देउवा, महन्थ ठाकुर, उपेन्द्र ठाकुर, अशोक राई लगायत जेल बसेर, लडेर लोकतन्त्र ल्याएका नेताहरुविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउने काम गरेको आरोप लगाए।

उनले भनेका थिए, ‘म भन्न चाहन्छु बालनजीलाई पैसा कति चाहियो? सरकारले दिन्छ कति चाहियो? हामी दिन्छौँ। सरकारले दिन तयार छ, हामी अर्थमन्त्रीलाई भनौँला, प्रधानमन्त्रीलाई भनौँला। उत्तेजना फैलाएर, उच्छृङ्खल गतिविधि गरेर तपाई मार्फत लाखौँ युवाहरूले यो देशको भविष्य खोजेका हुन्। पछिल्ला दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि धोका दिँदै हुनुहुन्छ, मुलुकलाई धोका दिँदै हुनुहुन्छ। यस ढङ्गले अगाडि नबढ्न पनि म भन्न चाहन्छु।’

ओली-बालेनबीच अनेक विषयमा आरोप-प्रत्यारोप भएपनि मुख्य विषय फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले न्युरोडमा सडक भत्काए पछिको विवाद हो। सो सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्दै थियो। बालेनले पनि फुटपाथ बढाउन खोज्दै थिए तर, तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ र ओलीले त्यसको विरोध गरेपछि बालेन ओलीप्रति थप आक्रोशित बने। 

त्यसपछि काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्यायो। त्यसपछि झन् ओली-बालेन एक अर्काप्रति लक्षित कटाक्ष, आक्रोश, आरोप-प्रत्यारोपमा उत्रिए।

बालेनको उक्त कदमपछि एमाले पार्टी कार्यालयमा भएको एक बैठकमा ओलीले भनेका थिए, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने? यो कुनै सभ्यता हो? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन? उनीहरुको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्याबात् लेख्छ। अनि अरू चुप लागेर बस्छन् झोक्राएर। यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन?’

त्यसपछि बालेन पनि के कम? केही समयपछि कांग्रेस-एमाले गठबन्धनबाट ओली प्रधानमन्त्री बन्ने चर्चा सुरू भएपछि बालेनले त्यसको कटाक्ष गरिहाले। बालेनले ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिर हाल्दै भनेका थिए, ‘यो समय गिरीबन्धु चियाको हो, काले काले मिलेर खाऊँ भाले।’ 

यो स्टाटसले पनि बालेनविरुद्ध ओलीमात्र हैन, एमाले नै लागिरहेको कतिपयको बुझाई छ।  

त्यसअघि पनि गएको साउन २२ मा प्रधानमन्त्री ओलीले उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँगको सहकार्यबारे छलफल गरे। तर, त्यस छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहभागी भएनन्। उनको सट्टा उप-मेयर सुनिता डंगोल सहभागी थिइन्। 

बालेन पार्टी खोलेर राजनीतिमा आउने सम्भावना बलियो छ, त्यसकारण पनि ओलीमाथि प्रश्न उठाउँदै आफ्नो राजनीतिक स्पेस बनाउन खोजेका छन् बालेनले। त्यसका लागि ओलीले मन नपराए पनि बालेन पेलेरै सहरका घर भत्काएर वा सडक भत्काएर काम गरेर लोकप्रिय बन्ने दौडमा छन्। ओली र सिंगो एमालेमा भने आफ्नो चुनावी आधार इलाका भत्काएर एउटा निर्दलीय युवाले जनमत बटुल्ने चिन्तामा छ।  

मंसिर ९, २०८१ आइतबार ११:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।