११ सय बढी फिल्म खेलेर गिनिज बुकमा नाम लेखाएका ब्रह्मानन्दमले कति लिन्छन् पारिश्रमिक?
एजेन्सी : तेलुगु फिल्मका कमेडियन कलाकार ब्रह्मानन्दमले एक हजारभन्दा बढी फिल्म खेलेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका छन्। उनी टलिउडका ‘कमेडी किङ’का रूपमासमेत परिचित छन्।
कमिक अभिनयबाट चर्चित कलाकार ब्रहमानन्दम संसारकै सर्वाधिक धेरै चलचित्र खेल्ने जीवित कलाकारको गिनिज वर्ल्ड रेकर्ड होल्डर हुन्। तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः चलचित्रमा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन्। उनले दक्षिण भारतका स्टार ट्याग पाएका प्रायः सबैजसो अभिनेतासँग काम गरिसकेका छन्।
सन् २००९ मा उनलाई भारत सरकारले पद्म श्री पदकबाट सम्मान गरेको छ। आचार्य नागार्जुन युनिभर्सिटीले उनलाई ‘डक्टरेट’को उपाधि पनि दिइसकेको छ। उनको पूरा नाम ब्रह्मानन्दम कन्नेगान्टी हो। उनी सन् १९५६ फेब्रूअरी १ मा जन्मिएका हुन्।
उनले 'मोद्दाबाइ' नामको नाटकमा अभिनय गरिरहेको बेला तेलुगु निर्देशक जन्धयालाले पहिलोपटक देखेका थिए। उनको अभिनयबाट प्रभावित भएर जन्धयालाले ब्रह्मानन्दमलाई 'चन्ताबाबाइ' मा एक सानो भूमिका दिएका थिए। यसपछि ब्रह्मानन्दमले कहिले पछाडि फर्केर हेर्नुपरेन।
भारतीय समाचारमाध्यम नवभारत टाइम्सका अनुसार आज उनी ५५० करोड भारूका मालिक हुन्। उनीसँग करोडौंको जग्गा र हैदराबाद नजिकै जुब्ली हिलसमा एक भव्य बंगला पनि छ। उनीसँग महँगा कारको कलेक्सन पनि छ।
ब्रह्मानन्दमले एक फिल्ममा काम गरेवापत १ देखि २ करोड भारू लिन्छन्। आफूले खेलेका फिल्म हिट हुनु र आफ्नो चर्चाको कारण उनले आफ्नो पारिश्रमिक बढाएर १ करोड भारू पुर्याएका हुन्।
११ सय बढी फिल्ममा काम गरिसकेका उनले नेपाली फिल्म 'ह्रस्व दीर्घ' मा पनि अभिनय गरेका छन्।
मंसिर ९, २०८१ आइतबार १०:३७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।