निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरहको तलबभत्ता नदिने
काठमाडौं : निजी मेडिकल कलेजका सञ्चालकहरूले स्नातकोत्तर तहमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने जनाएका छन्। पत्रकार भेटघाटमा उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताए।
चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीलाई अधिकृत सरहको सेवासुविधा उपलब्ध गराउनका लागि निजी मेडिकल कलेजले स्नातकोत्तर तह पढाउनका लागि भर्नुपर्ने स्वमूल्याङ्कन फारम भर्नुपर्ने बताएको छ।
एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले स्नातकोत्तर तहका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताए। स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई कलेजमा काम गराएबापत केही सुविधा भने दिने उनको भनाई छ।
'विद्यार्थी पढाइसँगै केही सिक्न पनि आएका हुन्। त्यसैले सरकारी तलब सरह हामीले दिन सक्दैनौं, उनले भने।
आयोगले कलेजहरूलाई भर्न पठाएको स्वमूल्याङ्कन फारममा विद्यार्थीलाई मासिक रूपमा आठौँ तह, मेडिकल अधिकृतको तलब सरह भत्ता उपलब्ध गराउने प्रतिबद्धता मागेको छ। त्यो भनेको ४८ हजार सात सय रूपैयाँ हो। निजी कलेजले भने मासिक २० देखि २५ हजारसम्म दिँदै आएको बताएका छन्।
एसोसिएसनका उपाध्यक्ष डा बुद्धिमान श्रेष्ठले पनि आफूहरूले आयोगले तोकेअनुसार मेडिकल अधिकृत सरहको तलब दिन नसक्ने बताए।
मंसिर ९, २०८१ आइतबार ०९:५९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।