महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा भाजपा नेतृत्वको महायुति गठबन्धनको ऐतिहासिक जीतपछि के भन्छन् मोदी?
एजेन्सी : भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ऐतिहासिक विजय भएको बताए।
महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २३० सिटमा जित हासिल गरेको छ। विपक्षी गठबन्धन महाविकास अघाडीले ५० सिटमा जित हासिल गरेको छ।
त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जित्ने देखिएको छ। यहाँ जेएमएम एक्लैले ३४ सिट जित्ने अनुमान गरिएको छ। कांग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपा (माले) ले २ सिट जित्ने अनुमान गरिएको छ।
झारखण्डमा विपक्षी भाजपाले २२ सिट जित्ने देखिएको छ भने उसको सहयोगी अल झारखण्ड स्टुडेन्ट्स पार्टी (आजसू), लोक जनशक्ति पार्टी (रामविलास) र जनता दल (युनाइटेड) ले एक-एक सिट जित्ने अनुमान गरिएको छ। यहाँका धेरै सीटमा अझै मतगणना जारी छ।
निर्वाचन आयोगका अनुसार हेमन्त सोरेनले भाजपाका गामलियाल हेम्ब्रोमलाई ३९ हजार ७९१ मतको अन्तरले पराजित गर्दै बरहैतमा निर्वाचित भए। सोरेनलाई ९५ हजार ६१२ मत प्राप्त भएको छ भने हेमब्रोमले ५५ हजार ८२१ मत प्राप्त गरे।
सोरेन अब जेएमएम नेतृत्वको गठबन्धनको नेतृत्वमा झारखण्डको मुख्यमन्त्रीको रूपमा फर्कने तयारीमा देखिएका छन्।
प्रधानमन्त्री मोदीद्वारा आभार प्रकट
सामाजिक सञ्जाल एक्समा एक पोस्टमा प्रधानमन्त्री मोदीले भाजपा नेतृत्वको गठबन्धनलाई मतदान गरेकोमा आभार प्रकट गर्दै महाराष्ट्रको प्रगतिको लागि भाजपा र भाजपा नेतृत्वको गठबन्धनले काम गरिरहने आश्वासन दिए।
सन्देशमा उनले लेखेका छन्, 'विकासको जित, सुशासनको जित हुन्छ। एकताबद्ध भएर हामी अझ माथि उक्लनेछौं। यो स्नेह र न्यानोपन अतुलनीय छ। म जनतालाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो गठबन्धनले महाराष्ट्रको प्रगतिको लागि काम गरिरहनेछ।'
काङ्ग्रेस सामाजिक न्यायका लागि लड्ने : अध्यक्ष खड़गे
काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले पनि झारखण्ड र महाराष्ट्रको चुनावी परिणामप्रति प्रतिक्रिया व्यक्त गरे।
चुनावी परिणामपछि एक्समा गरिएको पोष्टमा खड़गेले झारखण्डका लागि लेख्नुभएको छ, 'झारखण्डका जनताले आफ्नो सार्वजनिक अधिकार, पानी, जङ्गल, भूमिको मुद्दालाई प्राथमिकताका साथ रोजेका छन्। हामीले संवैधानिक संस्थाहरूको दुरुपयोगको खेललाई परास्त गरेका छौं।'
उनले हेमन्त सोरेन र गठबन्धनका सबै नेतालाई धन्यवाद दिँदै थपे, 'हामीले सामाजिक न्यायका लागि लड्नुपर्छ, जनताको आवाजलाई उच्च राख्नुपर्छ, जवाफदेही सरकार बनाउनुपर्छ।'
मंसिर ९, २०८१ आइतबार ०८:३०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।